खाेज्नुहाेस

सीमामा सीमाङ्कन : झस्किए स्थानीय

Image

सन्तोष पन्त, कञ्चनपुर – पिल्लर खोज्दै सीमा क्षेत्रमा नेपाल भारतका सुरक्षाकर्मी ओहोरदोहोर गर्न थालेपछि कञ्चनपुरको दक्षिणी क्षेत्रका स्थानीय झस्किएका छन । माघ ६ गते बेलौरी नगरपालिका–१० भुडामा भारतीय सीमा सुरक्षाबल (एसएसबी) ले हातहतियार सहित सीमा नापजाँच गरिरहेको देखेपछि स्थानीयले फिर्ता पठाएका भएपनि त्यसको केही दिन पछि दुवै देशका सुरक्षाकर्मी सयुक्त रुपमा सीमामा पिल्लर खोज्न थालेपछि स्थानीय झस्किएका हुन ।

स्ट्रीप नक्साको विवाद रहेको सो क्षेत्रमा विवाद यथावत रहेकै बेला पुनः दुवै देशका सुरक्षा बलका प्रतिनिधिले सीमाङ्कन गरिरहेको देखेपछि स्थानीयले विरोध जनाएका छन । स्ट्रीप नक्सा अनुसार लामो समयदेखि भोगचलन गरेको जग्गा नै भारतमा देखिएपछि स्थानीयको विरोध पछि २०७६ सालदेखि सो काम रोकिएको थियो । उक्त नक्सा अनुसार बेलौरीमा मात्रै पुर्जावाला जमिन, हुलाकी सडक भारतमा देखिएको थियो ।

attariya hospital

स्ट्रीप नक्सा तयार गर्दा त्रुटि भएको भन्दै खारेज गरी नयाँ स्ट्रीप नक्सा तयार गर्न स्थानीयले माग गरेका थिए । २०५८ देखि २०६३ सालमा निर्माण गरिएको स्ट्रीप नक्सा अनुसार कञ्चनपुरमा रहेको प्याराताल, सडक, नहर, भारतमा देखाइएको छ । सीमा क्षेत्रमा लामो समय देखि स्ट्रीप नक्साले निम्त्याएको विवाद यथावत रहेकै बेला भारतीय सीमा सुरक्षाकर्मीहरु स्ट्रीप नक्सा अनुसार नाप्न आएको भन्दै अन्तर्राष्ट्रिय सिमा सरोकार समुहले आपत्ति जनाएको छ ।

navjiwan hospital

बिहिबार सशस्त्र प्रहरी बिओपि भुडामा पुगेर सरोकार समुहका संयोजक पल्लबराज भट्ट सहितको टोलीले सशस्त्र प्रहरीलाई विवाद यथावत रहेकै बेला सीमाङ्कनको काम गर्न खोजिएको भन्दै आपत्ती जनाएको थियो । संयोजक भट्टले एसएसबीबाट नेपालीहरुको भोगचलनमा रहेको जमिनमा आएर फित्ता राख्ने, जीपियस लिएर नाप्ने कार्य बेला बेला विवाद हुदै आएकोले त्यस्तो कार्य तुरुन्तै रोक्नुपर्ने बताए ।

‘स्ट्रीप नक्साको ड्राफ्ट बन्नु भन्दा दशकौँ अगाडि देखि नेपालीहरुको भोगचलनमा रहेको र तब सम्म भारतीय पक्षले समेत स्वीकार गरेको सीमा कसरी स्ट्रीप नक्सा बनाउँदा नेपाल तिर सर्यो ?’ संयोजक भट्टले भने ‘२०७६ सालमा स्ट्रीप नक्सा अनुसार नापी गर्न खोज्दा, मानी आएको सीमाभन्दा नेपाल भित्र लालपुर्जा भएको जमिन, नहर, हुलाकी सडक भारत तिर पर्ने गरि निर्माण गरिएको छ ।’

विवादित कामको छानबिन नगरी रोकिएको काम बिना प्राविधिक नाप नक्सा विना सयुक्त सीमा सुरक्षाकर्मीहरूले नाप्ने नाममा जनता तर्साउने कार्य गरिरहेकाले त्यसो नगर्न संयोजक भट्टले आग्रह गरे । ‘स्ट्रीप नक्सा ड्राफ्ट मात्र हो, नेपाल सरकार र भारत सरकार बीच लागु गर्ने सन्धि सम्झौता भएको छैन’ भट्टले भने ‘त्यसमा त्रुटि छ सच्याउन सकिन्छ, सच्याउनु पर्छ भन्ने हाम्रो माग हो । सोही कारण २०७६ साल देखि यो नापि रोकिएको हो ।’

स्ट्रीप नक्सा मात्र जीपियसले नापिने कित्ता नापिको नक्सा ननापिने भएकोले स्ट्रीप नक्सा अनुसार जनता ढाट्ने काम सुरक्षाकर्मीले गरिरहेको भट्टले बताए । अन्तर्राष्ट्रिय सीमा सरोकार समुह जिल्लाको सीमा समस्या विगत देखि उठाउँदै आइरहेको छ । तर सरोकारवाला निकायले सीमा समस्या समाधानमा ध्यान नदिदा सीमा क्षेत्रका स्थानीयले दुःख खेप्नु परेको छ ।

उता प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले भने हाल सीमामा नापीको काम नभएको बताए । उनले सीमामा दुवै देशका सुरक्षा निकायको जोइन्ट पेट्रोलिङ गस्ती मात्रै भइरहेकोले त्यो सामान्य कुरा भएको बताए ।