अत्तरिया – कञ्चनपुरको कृष्णपुरका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको चरम अभाव भएको छ । १३ वटा स्वास्थ्य संस्था रहेको नगरपालिकामा स्वास्थ्य शाखाका कर्मचारी सहित ४९ जना मात्रै कार्यरत रहेका छन ।
स्वास्थ्यकर्मीको अभाव हुँदा नियमित खोप सेवा दिन समेत समस्या भएको स्वास्थ्या शाखा प्रमुख रतन सिह बिष्टले बताए । उनका अनुसार नगरपालिकाको वडा नम्बर २ गडबिजुला आधारभूत स्वास्थ्य केन्द्र, वडा नम्बर ४ को सहारानगर आधारभूत स्वास्थ्य केन्द्र र वडा नम्बर ७ को कलुवापुर आधारभूत स्वास्थ्य केन्द्रमा एक जना पनि पारामेडिकल कर्मचारी छैनन् । उनले यी स्वास्थ्य संस्थामा एक जना पनि पारामेडिकल कर्मचारी नहुँदा बन्द हुने अवस्थामा पुगेको बताए ।

२४ घण्टे सेवा दिइरहेको कृष्णपुर स्वास्थ्य चौकीमा पनि कर्मचारी अभाव रहेको छ । २४ घण्टे सेवा दिइरहेको भएपनि हाल स्वास्थ्य चोकीमा एक जना मेडिकल अधिकृत, २/२ जना हेल्थ असिस्टेन्ट, अहेव, ल्याव असिस्टेन्ट र ६ जना अनमी मात्रै कार्यरत रहेका छन ।
कृष्णपुरमा दुई वटा स्वास्थ्य चौकी, ८ वटा स्वास्थ्य केन्द्र, २ वटा सामुदायिक स्वास्थ्य इकाई र एक वटा गाउँघर क्लिनिक रहेका छन । जसमा एक जना मेडिकल अधिकृत, २ जना स्टाप नर्स, ८/८ जना हेल्थ असिस्टेन्ट र अहेव, १४ जना अनमी, ४ जना ल्याव असिस्टेन्ट कार्यरत रहेका छन । त्यस्तै १२ जना अन्य कर्मचारी र सफाइकर्मी कर्मचारी रहेको स्वास्थ्य शाखा प्रमुख बिष्टले बताए । नगरमा कार्यरत ४९ कर्मचारी मध्ये २१ जना मात्रै स्थायी कर्मचारी रहेका छन भने २८ जना करार र ज्यालादारीका छन ।

कर्मचारी छनोट विवादित
नगरका स्वास्थ्य संस्थाले कर्मचारीको चरम अभाव झेलिरहेका भएपनि कर्मचारी छनोटमा भने पटकपटक विवाद हुँदै आएको छ । नगरपालिकामा स्वास्थ्यका कर्मचारी नियुक्तिको लागि आर्थिक वर्ष २०७६/०७७ मै बजेट विनियोजन गरेर कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाइए पनि हाल सम्म पनि कर्मचारी पदपुर्ती हुन सकेको छैन । नगरपालिकाले २०७६/०७७ स्वास्थ्यका कर्मचारी भर्नाका लागि विज्ञापन गर्दा प्रक्रिया रद्द भएर रकम फ्रिज भएको थियो ।
लामो समयपछि हाल पुनः चालु आर्थिक वर्षमा स्वास्थ्यकर्मी अभाव रहेका स्थानमा पदपुर्तीका लागि १४ जना हेल्थ असिस्टेन्ट र अहेव माग गरिएको भएपनि सो प्रक्रिया पनि विवादित बनेको छ । नगरपालिकाले ८ जना हेल्थ असिस्टेन्ट र ६ जना अहेव माग गरेकोमा अहेवको छनोट प्रक्रिया अगाडि बढेको छैन भने हेल्थ असिस्टेन्ट पदको सर्ट लिस्ट प्रक्रियामै विवाद उत्पन्न भएको छ ।
हेल्थ असिस्टेन्ट पदमा ९४ जनाले आवेदन दिएकोमा ३९ जनालाई सर्ट लिस्टमा राखेर फागुन २ गते लिखित परीक्षाका लागि बोलाईएको छ । तर, सर्ट लिस्ट प्रक्रियामै अनियमितता भएको भन्दै विवाद भएपछि हाल छनोट प्रक्रिया अगाडि बढ्छ या बढ्दैन भन्ने अन्योल छ । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख विष्टले भने छनोट प्रक्रिया अब नरोकिने बताए । उनले हेल्थ असिस्टेन्ट पदको लिखित र मौखिक भएपनि अहेब पदको छनोट प्रक्रिया अगाडि बढ्ने बताए ।
नगरपालिकाले कृष्णपुर स्वास्थ्य चौकीका लागि ३, दोमिल्ला, गडबिजुला, साहारानागर, कलुवापुर र रैकवा बिचवा स्वास्थ्य केन्द्रका लागि १/१ जना हेल्थ असिस्टेन्ट माग गरेको थियो ।
















