अत्तरिया – अत्तरिया सञ्चालित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएको नक्कली टिकट ठेली प्रकरणको छानविनको मागका लागि सुरु गरिएको हस्ताक्षर अभियानमा स्ववियुले साथ दिएको छ । सोमबारबाट ‘नक्कली टिकट प्रकरण सत्यतथ्य छानविन दवाव संघर्ष समिति’ ले थालेको हस्ताक्षर अभियानमा हस्ताक्षर गर्दै स्ववियुले ऐक्यवद्धता जनाएको हो ।
हस्ताक्षर अभियानमा हस्तारक्षर गरेर आफुहरुले पनि सत्य तथ्य छानविनको माग गरेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महराले बताए । उनले आफुहरुको चाहना पनि घटनाको सत्य तथ्य छानविन हुनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने रहेको बताए ।


टिकट काट्ने जिम्मा स्ववियुले पाएको थियो । उक्त प्रकरणमा स्ववियुको पनि संलग्नता रहेको भन्दै स्ववियु माथि पनि आरोप लाग्दै आएको छ । तर सभापति महराले भने आफुहरु निर्दाेष रहेको बताएका छन । ‘आरोप हाम्लाई लगाउनै मिल्दैन’ उनले भने ‘यो टिकटको विषयमा गुमनाम गर्न खोजिदैछ भनेर सर्वप्रथम फेसबुकमा हाल्ने म नै हो ।’ उनले आफुले नै गुपचुप बनाउन खोजिएको विषयलाई बाहिर ल्याएको बताए ।
स्ववियुका सचिव बम बि.क ले दोषी कुनै पनि हालतमा उम्किनुहुदैन भन्ने पक्षमा स्ववियु पनि रहेको बताए । उनले स्ववियुले केही विपन्न विद्यार्थीहरुले पढ्न पाउँछन की भन्ने आशले टिकट काट्ने जिम्मा लिएको भएपनि अहिले आएर हुदै नभएको आरोप स्ववियुलाई लागिरहेको बताए । ‘हाम्लाई टिकट दिने जिम्मा दिपिन साउँद दाईको थियो, त्यहाँबाट लिएका टिकट ठेलीहरु त्यहाँ राखिएका ४÷५ वटा काउन्टरहरुमा दिएका हौ’ उनले भने ‘त्यो बेला हाम्रो टिकट काटिरहेको मान्छेले नै महासचिवलाई नक्कली टिकटको बारेमा जानकारी दिएको हो ।’ उनले नक्कली ठेली भेटिदा कार्यसमितिका मान्छेहरुले फोटो खिच्न समेत नदिएको आरोप लगाए । उनले आफुहरुले जबरजस्ती फोटो खिचेर सामाजिक सञ्जालमा राख्दा नै यो प्रकरण बाहिर आएको बताए ।
टिकट लिने जिम्मा पाएका जगतराम महराले संघर्ष समितिको अभियानले दोषीलाई कारबाही गर्नुपर्ने माग राखेकाले आफुहरु पनि सो अभियानमा जोडिएको बताए । उनले त्यो प्रकरणमा स्ववियुको कुनै दोष नरहेको बताए । ‘टिकट ठेली कार्यसमितिबाट बुझ्ने मान्छे म नै हो, प्रत्येक काउन्टरहरुमा टिकट वितरण गर्ने मान्छे पनि म हो र त्यो ठेली फरक कलरको आको छ भनेर जानकारी दिने मान्छे पनि म हो’ उनले भने ‘त्यति जानकारी गराउदा गराउदै पनि त्यो प्रकरणमा हामी के कारणले दोषी भयौँ ।’ उनले आफुहरुलाई दोषी ठहराउनुको कारण के हो भन्ने प्रश्नको उत्तर खोज्न र दोषीलाई यथाशिघ्र कारबाही गरिनुपर्छ भन्ने माग लिएर आफुहरु संघर्ष समितिको कार्यक्रममा सहभागी भएको बताए । उनले आफुहरुले यो व्यक्तिबाट टिकट ठेली बुझेको हो भनेर भन्दा पनि आफुहरुलाई विना कारण टर्चर दिने काम भैरहेको बताए ।
अत्तरियामा पुस २६ गतेदेखि माघ ७ गते सम्म सञ्चालित सुदूरपश्चिम महोत्सवको आठौं दिन २८ वटा नक्कली टिकट ठेली बरामद गरिएका थिए । नक्कली टिकट ठेलीबाट टिकट काटेर महोत्सव आयोजक अत्तरिया उद्योग वाणिज्य संघलाई हानी नोक्सानी पु¥याएको भन्दै छानविन गरी दोषी पत्ता लगाउन माग गरिदै आएको छ । घटनाको छानविनका लागि संघले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि जिल्ला प्रहरीले अनुसन्धान अगाडि बढाएको भएपनि दोषी भने अझै पत्ता नलागेको प्रहरीले जनाएको छ । दोषी लुकाउन संघकै पदाधिकारी लागेको भन्दै अत्तरियाका व्यवसायीहरु दवाव दिदै आएका छन ।
















