अछाम- अछाममा किशोरीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । तुर्माखाँद गाउँपालिका–५ की १७ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा अन्दाजी २९ वर्षीय सर्प विक पक्राउ परेका हुन् ।
उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ । किशोरीले आत्महत्या प्रयास गरेपछि घटना बाहिर आएको हो । यौन दुर्व्यवहारको घटना गाउँमै मिलाउन दबाब दिएपछि ती किशोरीले आत्महत्या गर्न खोजेकी थिइन् । पुस ७ गते तुर्माखाँद बजारबाट घर जाने क्रममा विकले उनलाई हातपातसहित बलात्कार गरेका बताइएको छ ।
किशोरीकी आमाका अनुसार घटनाको पछिल्लो दिन जनप्रतिनिधि, केटा पक्ष र किशोरीका आफन्तसहित गाउँलेहरु बसेर घटना गाउँमै मिलाउनुपर्ने भन्दै दबाब दिएका थिए । त्यसपछि किशोरीले न्याय नपाउने भन्दै आत्महत्या प्रयास गरेकी थिइन् । प्रहरीले किशोरीको उपचार भइरहेको र विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ ।