कञ्चनपुर- सरकारले कञ्चनपुरका उखु किसानको बाँकी रहेको ३१ करोड ५९ लाख अनुदान रकम किसानहरुको खातामार्फत भुक्तानी गर्ने भएको छ ।
अर्थ मन्त्रालयले कञ्चनपुरका उखु किसानको दिन बाँकी अनुदान रकम वितरण गर्न महालेखा नियन्त्रण कार्यालयमार्फत कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरले किसानको खातामा अनुदान रकम भुक्तानी गर्ने जनाएको छ ।
उखु किसानले पाउनु पर्ने सरकारी अनुदान वितरण कार्य समितिले निर्णय गरेपछि किसानको सम्बन्धित बैंकमार्फत भुक्तानी गरिने कञ्चनपुर कोष नियन्त्रक सबिना वनले बताइन् । ‘अनुदान रकम अर्थ मन्त्रालयबाट प्राप्त भइसकेको छ,’ वनले भनिन्, ‘किसानलाई वितरणका लागि जिल्लाका साहयक सिडियोको संयोजकत्वमा समिति छ, समितिले वितरण गर्ने सम्बन्धी छलफल गर्छ । सोही अनुरुप किसानलाई वितरण हुन्छ ।’
साहयक सिडियो हाल बिदामा छन् । उनी आएपछि मात्रै वितरण प्रक्रिया अगाडि बढ्नेछ । कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरका अनुसार यसै हप्ताभित्र अनुदान रकम भुक्तानी हुन सक्ने छ ।
कञ्चनपुरमा दुई उखु मिल सञ्चालनमा छन् । गत वर्ष बेलौरीस्थित महाकाली सुगर मिलमा ३ हजार ३ सय ८१ र पुर्नवासस्थित भागेशवर सुगर मिलमा २ हजार ३ सय ८२ उखु किसानहरुले करिब ४६ लाखभन्दा बढी उखु बिक्री गरेका थिए । कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार जिल्लाका दुबै उखुमिलमा उखु बिक्री गरेका ५ हजार ७ सय ६३ उखु किसानले ३१ करोड ५९ लाख १६ हजार २६ रुपैयाँ १० अनुदान रकम पाउन बाँकी छ ।
असोज-कार्तिक भित्रै वितरण गरिसक्नुपर्ने अनुदान रकम यो वर्ष सरकारले करिब ४० प्रतिशत किसानले उखु बिक्री गरिसकेपछि दिएको थियो ।