अत्तरिया – कैलालीको अत्तरियामा रहेको सिटी बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थीक वर्षमा १० करोड लगानी पुर्याउने जनाएको छ । बिहीबार सहकारीको १२ औं साधारण सभामा ऋण लगानी बढाएर १० करोड पुर्याउने जनाएको हो । गत आर्थिक वर्षको असार मसान्त सम्ममा सहकारीले ८ करोड ३७ लाख ३० हजार २६३ रुपैयाँ ऋण लगानी गरेकोमा चालु आर्थिक वर्षमा १९ प्रतिशत ऋण लगानी बढाएर १० करोड पुर्याइने सहकारी संस्थाका सचिव प्रकाश देउवाले बताए ।
संस्थाले चालु आर्थिक वर्षमा १५ दशमलव ७१ शेयर पूँजी बढाउने लक्ष्य लिएको छ । सहकारीको हालको सेयर पूँजी १ करोड ५५ लाख ५ हजार ६ सय रहेकोमा त्यसलाई बढाएर १ करोड ८० लाख पु¥याउने लक्ष्य लिइएको सचिव देउवाले बताए । सहकारीले बचत पनि बढाएर ६ करोड पुर्याउने जनाएको छ ।


सहकारीका लेखा समिति संयोजक कल्याण सिंह बोहराले ऋण लगानी भइसकेको रकम सदुपयोग भए नभएको जाँच तथा अनुगमन गर्न आवश्यक रहेको बताए । उनले खराब ऋण असुलीका लागि ऋण तथा संचालन समितिले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।
सहकारीमा अध्यक्ष श्याम बहादुर खड्काले आर्थिक तरलताका बावजुत पनि सहकारी संस्थाहरुले सदस्यहरुलाई कर्जा लगानी गरिरहेको बताए । उनले साना व्यवसाय गर्ने उद्यमीहरू सहकारीमै भर पर्ने गरेको बताए । उनले भने ‘अधिकांश बैंंक तथा वित्तीय संस्थाहरूमा कर्जा लगानी बन्द रहेको अवस्था छ । हाम्रो संस्थाले पनि तरलतालाई ध्यानमा राख्दै स–सानो कर्जा लगानीलाई मात्रै निरन्तरता दिइरहेको छ ।’
सहकारीका सेयर सदस्य चेत राज पन्तको प्रमुख आतिथ्यमा भएको १२ औं साधारण सभाको संचालन सहकारीका व्यवस्थापक विष्णु खड्काले गरेका थिए ।
२०६८ सालमा ५६ जना जनाबाट सुरु भएको सहकारीमा हाल १ हजार ७५२ सेयर सदस्य रहेका छन ।

















