अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ स्याउलेमा रहेको साना किसान कृषि सहकारी संस्था श्रीपुरको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार एक औपचारीक कार्यक्रमका बीच संस्थाको साधारण सभा सम्पन्न भएको हो । एकाईगत रुपमा संस्थाले यही मंसिर २० गते देखि साधारण सभाहरु गर्दै आएको थियो ।
२०५३ साल चैत २९ गते ३५ जना शेयरसदस्यको ३ हजार ५ सय शेयरपुँजिबाट सुरुवात भएको संस्थामा हाल ५ हजार ४५४ जना शेयरसदस्य रहेका छन भने संस्थाको शेयरपुँजि ४ करोड ४९ लाख ३६ हजार रुपैया रहेको छ । संस्थाले कृषि क्षेत्रमा काम गर्ने किसानहरुलाई कृषिमा उत्प्रेरित गर्ने कार्य गर्दै आएको छ ।


बुधबार संस्थाका अध्यक्ष केशवराज विनाडीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सुदूरपशिचमका प्रदेश सभा सदस्य दिर्घ सोडारी रहेका थिए भने विशिष्ठ अतिथिमा साना किसान लघुवित्त वित्तिय संस्था लिमिटेड इलाका कार्यालय अत्तरियाका शाखा प्रबन्धक पदम राज रेग्मी रहेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि एवम् शेयरसदस्यहरुको सहभागीता रहेको थियो ।
६५ करोडको कारोबार, डेढ करोड नाफा
सहकारीले आर्थिक वर्ष २०७९/०८० मा ६५ करोड बढीको कारोबार गरेको छ । विभिन्न शिर्षकहरुमार्फत सहकारीले उक्त आर्थिक वर्षमा ६५ करोड ४ लाख ४० हजार ९६ रुपैया बराबरको कारोबार गरेको संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त कारोबारबाट संस्थाले सो आर्थिक वर्षमा डेढ करोड बढी मुनाफा समेत आर्जन गरेको छ । संस्थाले सो आर्थिक वर्षमा १ करोड ५५ लाख ९ हजार ९९३ रुपैया मुनाफा आर्जन गरेको संस्थाका मुख्य प्रबन्धक टेकराज भट्टले जानकारी दिए । उनले संस्थाको मुनाफा बढी रहेपनि २ करोड ५५ लाख ८४ हजार ३९५ रुपैया संस्थाले भविष्यमा पर्न सक्ने सम्भावित नोक्सानीको व्यवस्थामा छुट्याएको बताए ।
समाजमा व्याप्त गरिवि निवारणका लागि सहकारीको स्थापना भएको बताउदै उनले साना किसानहरुलाई व्यवसायी बनाउन सहकारी कटिबद्ध रहेको बताए । उनले साना किसानहरुलाई व्यवसायीक बनाई उनिहरुको आर्थिकस्तर उकास्ने कार्यका लागि नै सहकारीले विभिन्न योजनाहरु ल्याएको बताए । उनले विपन्न समुदायका किसानहरुको आर्थिक र व्यवसायीक स्तरोन्नतीका लागि साना किसान सदैव अग्रसर रहने बताए ।

















