कञ्चनपुरमा पुष्पखेतीतर्फ किसानको आकर्षण बढ्दै

कञ्चनपुर – कञ्चनपुरमा पुष्पखेतीमा किसानको आकर्षण बढेको छ । स्वदेशमै थोरै लगानीमा गतिलो आम्दानी हुन थालेपछि पुष्पखेती गर्ने किसानको संख्या बढ्दै गएको हो ।

maya metro hospital

प्लाष्टिक मालाको प्रयोग प्रतिबन्ध गर्नुका साथै विदेशबाट फूल आयातमा रोक लगाएपछि स्थानीयस्तरमै किसान फूलखेती गर्न थालेको भीमदत्त नगरपालिका–३ का किसान जनकबहादुर सिंहले जानकारी दिए । ‘पुष्पखेती गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । यसबाट मुनाफा पनि राम्रै हुन्छ’ उनले भने, ‘थोरै लगानीमा स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ ।’

joshi vada pasal 2

सिंह कृषि ज्ञान केन्द्र कञ्चनपुरमा प्राविधिक सहायक पदमा कार्यरत छन् । उनले भीमदत्त नगरपालिका–३ भाँसीस्थित जानकी कन्या माध्यमिक विद्यालयको जमिन भाडामा लिएर सात कट्ठा क्षेत्रफलमा फूलखेती गरेका छन् । दुई वर्षयता व्यावसायिक पुष्पखेती गरिरहेका उनले यसअघि भीमदत्तकै तिलकपुरमा फूलखेती गरेका थिए । यस वर्ष दसैँतिहारमा विगतभन्दा फूल कम बिक्री भएको उनको भनाइ छ ।

‘यस वर्ष फूल बिक्री गर्न निकै गाह्रो भयो, गत वर्ष माग पूर्ति गर्नै सकिएको थिएन’ उनले भने, ‘तिहारको समय ढिलो भएकाले स्थानीय फूल छ्यापछ्याप्ती भए, त्यसैले सोचेअनुसार फूल बिक्री नभएको हो ।’ उनका अनुसार चाडबाडको समयमा यस वर्ष महेन्द्रनगर क्षेत्रमा एक क्विन्टल फूल र रु. तीन सयसम्ममा उनेका फूलका माला बिक्री भएका छन् ।

फूलको मूल्य रु. पाँच सय प्रतिकिलोग्राम र मालाको रु एक सय दर तोकिएको थियो । फूल बिक्री गर्न हम्मेहम्मे परेपछि किसानले यसपटक सस्तोमै बिक्री गर्नुपरेको उनको भनाइ छ । कञ्चनपुरको दोधारा चाँदनी, कृष्णपुर र बेलौरीमा तुलनात्मकरूपमा अन्य ठाउँभन्दा बढी क्षेत्रफलमा पुष्पखेती गरिएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार झण्डै दुई सय जनाले चार हेक्टर क्षेत्रफलमा फूलखेती गरेका छन् ।

‘एक कठ्ठादेखि सात कट्ठा क्षेत्रफलसम्म फूलखेती गरिएको छ । विदेशी फूल ल्याउन नदिने प्रावधानपछि यहाँका किसानलाई फूलखेतीको चेतना जागेको छ’ उनले भने, ‘यसपटक तिहारमा बाहिरबाट फूल ल्याउन परेन, स्थानीयस्तरकै फूलले माग पूर्ति भएको छ ।’
सयपत्री, मखमली र कटफलावर प्रजातिका फूलको खेती बढी हुने गरेको उनले बताए । पुष्प व्यवसायमा किसानको आकर्षण बढ्दै गएपछि दसैँ तिहार, विवाह, व्रतबन्ध, सभा–समारोहमा प्रयोग हुने फूलमाला बाहिरबाट आयात गर्नुपर्ने बाध्यता हटेको छ ।

रासस

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.