अछाम – अछाममा जेष्ठ नागरिक सम्मान अभियान सुरु भएको छ । ‘आमाबुबा हाम्रा भगवान् हुन्, उनीहरूलाई स्याहार गरौँ,’ भन्ने सन्देश दिन अछाममा ज्येष्ठ नागरिक सम्मान अभियान सुरु गरिएको हो । ज्येष्ठ नागरिकहरू आफ्नै परिवारबाट अपहेलित भइरहेका घटना बढ्दै गएको वेला उनीहरूलाई घामपानी छेक्न र लौरो टेक्न मिल्ने छाता तथा कम्बल वितरण गरेर अभियान सुरु गरिएको छ ।

सदरमुकाम मंगलसेनमा आयोजित समारोहमा पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवर, प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह र सुदूरपश्चिम प्रदेश सभा सदस्य मेघराज खड्काले अभियानको उद्घाटन गरेका हुन् । जिल्लाका दशवटै स्थानीय तहका जनप्रतिनिधिहरूको उपस्थितिमा गरिएको अभियानको उद्घाटन समारोहमा बोल्दै पूर्वश्रममन्त्री कुँवरले यो अभियानले ज्येष्ठ नागरिकहरूलाई घर, समाज र सरकारबाट सुरक्षासहितको स्याहार दिनुपर्छ भन्ने सन्देश दिने बताए ।

समारोहमा बोल्दै अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाहले ज्येष्ठ नागरिकाका लागि राज्यले कैयौँ नियम कानुन बनाए पनि त्यो कार्यान्वयन नहुनु दुःखद भएको बताए । त्यसको कार्यान्वयन गरी यस्ता रचनात्मक अभियानमा हातेमालो गर्न उनले जिल्लाका सबै स्थानीय तहलाई सुझाव दिए ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य मेघराज खड्काले सम्पत्ति कमाएर पनि बाआमाप्रति वास्ता नगर्ने सन्तान बढेको भन्दै चिन्ता व्यक्त गरे । यो समस्या गाउँसहर दुवैतिर देखिएकाले यस्ता अभियानले त्यो प्रवृत्ति अन्त्य गर्न सहयोग पुग्ने उनको विश्वास छ ।
अभियानप्रति जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवर, मंगलसेनका नगरप्रमुख पदमबहादुर बोहोरा, साँफेबगरका नगरप्रमुख राजेन्द्रबहादुर कुँवर र ढकारी गाउँपालिकका अध्यक्ष प्रकाशबहादुर साउदले पनि ऐक्यबद्धता जनाएका छन् ।
बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष बिन्दु रावल, तुर्माखाँदका उपाध्यक्ष विमला शाही र चौरपाटीका उपाध्यक्ष सरदेवी खड्काले पनि यो अभियान गाउँस्तरमा अझ प्रभावकारी ढंगले कार्यान्वयन गराउने प्रतिबद्धता जनाएका छन् । जिल्लाका दशवटै स्थानीय तहसँगको समन्वयमा गरिने यो अभियानको नेतृत्व अछामको सामुदायिक रेडियो सोसाइटी एफएमले गरिरहेको छ ।