अत्तरिया – कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारीक कार्यक्रमका बिच पुस्तकालयको १४औ वार्षिक साधारण सभा सम्पन्न भएको हो । पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी रहेका थिए भने विशिष्ठ अतिथिमा पुस्तकालयका संस्थापक अध्यक्ष कृष्ण पनेरु ‘बञ्चित’, गोदावरी नगरपालिका वडा नं. १ का वडाध्यक्ष एवम् नगरप्रवत्ता गोपाल दत्त भट्ट र वडा नं. ४ का वडाध्यक्ष हेमप्रकाश मल्ल रहेका थिए ।
कार्यक्रममा सामाजिक क्षेत्रमा कार्य गर्ने ८ जना व्यक्तिहरुलाई सम्मानित गरिएको थियो । जसमा अत्तरिया बसपार्क व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण भट्ट, अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष टिकादत्त जोशी, अत्तरिया उद्योेग वाणिज्य संघका संस्थापक अध्यक्ष वसन्त रोकाया (ललित), गोदावरी –४ स्थित हनुमान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रबहादुर शाही, गोदावरी –२ वनदेवी स्थित ग्वासी समैजी देवस्थल सम्भार केन्द्रका अध्यक्ष चन्द्रबहादुर मडै, अत्तरिया स्थित कृषि उपज थोक बजार समितिका अध्यक्ष नन्दलाल भट्ट, गोदावरी– २ निवासी दामोदर रिजाल र पुस्तकालयका वर्तमान ग्रन्थपाल लेखराज जोशी रहेका छन । यसैगरी कार्यक्रममा नियमीत पाठकतर्फ ५ जनालाई सम्मानित गरिएको थियो । जसमा गोदावरी–१ आदर्शटोल निवासी उमाकान्त रोस्यारा, वडा नं. ४ बास्कोटा निवासी लिलाधर जोशी, सोही स्थानका टेकराज भण्डारी र तुर्णबहादुर शाही तथा वडा नं. २ उत्तर वनखेत निवासी बमबहादुर मल्ल रहेका छन ।
साधारण सभाको बन्दसत्रमा पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन तथा आगामी आर्थिक वर्षको अनुमानित कार्य योजना प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष धर्मसिंह कुँवरले गत आर्थिक वर्षको आय–व्यय विवरण तथा आगामी आर्थिक वर्षको अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका सल्लाकार समितिसदस्य कार्य समिति सदस्य, भूतपूर्व का.स.सदस्यहरु, दानदाता सदस्य तथा आजीवन सदस्य गरी जम्मा १०० जनाको उपस्थिति रहेको थियो । उपस्थित सम्पूर्ण आजीवन सदस्यहरुले उक्त लेखा प्रतिवेदन तथा प्रगति प्रतिवेदन सर्व सम्मतिले अनुमोदन गरेका थिए । पुस्तकालयका वर्तमान कार्य समिति सदस्य नरेन्द्रराज शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव राजबहादुर कडायतले गरेका थिए ।