खाेज्नुहाेस

छठको रौनक कम नहोस्

Image

छठ पर्व नेपाल र भारतका उत्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । नेपालको विशेष रूपले तराई (मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ ।

परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । यो पर्वमा मुस्लिम समुदायका व्यत्तिहरुले पनि सहभागी सहभागीता जनाउने गर्दछन । उनिहरुले पनि यो पर्वलाई विधिवत रुपमा मनाउने गर्दछन् । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

attariya hospital
navjiwan hospital

सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसँग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ व्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्सोल्लासका साथ मनाइने गरिन्छ । हिन्दुधर्मावलम्बीहरुका दुई प्रमुख पर्वहरु दशै र तिहारसँगै आउने छठ पर्वलाई त्यति महत्व दिएको पाईदैन ।

जसका कारण पछिल्लो समय छठ पर्वको रौनक कम हुदै गएको पाईन्छ । देश आधुनिकता तिर लम्कीएसँगै आधुनिक युगका मानिसहरुले छठको महत्वलाई विर्सदै गएको पाईन्छ । दशैतिहारमा मासु खाने र जुवातास खेल्न पाईने भन्दै खुसी हुने मानव समुदायले छठ पर्वलाई उल्लासका साथ मनाउने गरेको पाईदैन । यो एउटा यस्तो चाड हो जसमा डुब्न लागेको सूर्यको साथै उदाउँदो सूर्यको पनि आराधना गर्ने गरिन्छ । समाजमा उदाउँदो वा प्रतिष्ठीत व्यक्तीलाई सबैले सम्मान गर्छन् तर डुब्न लागेको घाम गरीब तथा बेसहारालाई कसैले हेर्दैनन् ।

यो पर्वले जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिन्छ । सूर्यले सबै प्राणीहरूलाई समानरूपमा प्रकाश दिन्छ त्यसैले सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि पनि सूर्यको पूजा गर्ने गरिएको किंवदन्ती छ । वर्षको दुई पटक चैत र कार्तिक महिनामा धुमधामका साथ मनाइने यस पर्वमा चोखो र शुद्धाशुद्धिमा अत्यन्तै ध्यान दिइन्छ । विधी विधान अनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहि आएको छ ।

विभिन्न सन्देशहरु दिने मात्रै नभई यो पर्वले सुर्यको महत्व र पौराणीक ईतिहास बोकेको छ । त्यसैले यो पर्वलाई पनि धुमधामका साथ मनाऔँ । परम्परादेखी नै मनाईदै आएको छठ पर्वको रौनकमा कमी हुन नदिऔँ ।