अछाम – अछामका एक नगरप्रमुखले टुहुरा बालबालिकालाई दशैं खर्च दिएका छन । जिल्लाको साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्रबहादुर कुँवरले टुहुरा बालबालिकालाई दशैं खर्च उपलब्ध गराएका छन ।

नगरपालिकाका–१४ वडाका आमाबुबा दुवै गुमाएका बालबालिकाहरूलाई आफूले पाउने सेवा सुविधाबाट दशैं खर्च उपलब्ध गराएको बताइएको छ । नगर प्रमुख कुँवरले १८ जना बालबालिकालाई ४५ हजार रकम आर्थिक सहयोग गरेका हुन् ।

एकजनालाई २ हजार ५ सयका दरले रकम उपलब्ध गराइएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख अनिता जोशीले जानकारी दिइन् । नगरभित्रका आफ्ना बालबालिकाहरूलाई दशैं मनाउन सहयोग गरेको नगर प्रमुख कुँवरले बताए । उनले आफूले पाउने सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्ने प्रतिबद्धता जनाएका छन ।



















