खाेज्नुहाेस

घर पुनः निर्माण गरिदिन आग्रह

Image

बझाङ – गएको मंगलबार दिउसोको भूकम्पमा परी बझाङमा ठूलो भौतिक क्षति भएको छ । दिउँसोको समयमा भूकम्प आउँदा मानवीय क्षति भने हुन सकेको छैन। जिल्लाका सयौं घरमा क्षति पुगेको छ । कतिपयको घर भत्किएको छ भने, कयौँका घरमा क्षति पुगेकाले आफ्नै घरमा रात काट्न नसक्ने अवस्था रहेको छ ।
भूकम्प पीडितलाई सरकारी क्षेत्रबाट प्रदान गरिने राहत नआइपुगेका कारण उनीहरू समस्यामा परेको भूकम्प पीडितको भनाइ छ । जिल्लामा भूकम्पले पुर्याएको क्षति बारे जानकारी लिई प्रधानमन्त्री तथा मन्त्रीहरूको टोली शुक्रबार राजधानी फिर्ता भएको छ ।

भूकम्प प्रभावित क्षेत्र निरीक्षण तथा अवलोकन गर्न बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पले निम्त्याएको पहिरोमा परी मृत्यु हुने परिवारलाई तत्काल २ लाख राहत दिने, आवास निर्माण गर्न ५० हजार रुपैयाँ उपलब्ध गराउने, भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिने घोषणा गरेका छन् ।

attariya hospital

यता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह पनि भूकम्प प्रभावित क्षेत्र निरीक्षण तथा अवलोकन गर्न चार दिन देखि बझाङमै रहेका छन । शनिबार मुख्यमन्त्री शाहले बुंगल नगरपालिका वडा नं २ का भूकम्प पीडितसँग भेटघाट गरेका छन् । भेटमा मुख्यमन्त्री शाहले प्रदेश सरकारले राहतको प्याकेज ल्याउने घोषणा गरेका छन् ।
मुख्यमन्त्री शाहले भूकम्प प्रभावित सबै जिल्लाको अवलोकन पछि प्रदेश सरकारले पीडितहरूको माग सम्बोधन गर्ने बताए । तर गिरौका भूकम्प पीडितले भने भत्किएका घर पुनः निर्माण गरिदिन आग्रह गरेका छन् ।

navjiwan hospital

भूकम्प पीडित कलक धामीले भने, ‘खाना त बरु गाँउका दाजुभाइ सँगै मागेरै खाउला तर घर निर्माण गर्न सक्ने अवस्था छैन त्यसैले प्रदेश सरकारले आवास पुनः निर्माण गरिदिए गुन मान्ने थियौ ।’ धामीले आफ्नो घर भत्किएको र अहिले छिमेकी दाईको घरमा परिवार सारेको बताए। उनले भने, ‘राहत त सबैले दिन्छन् बस्नका लागि घर नै नभएपछि दिएको त्रिपाल र खाद्यान्नले के गर्नु ?’

यस्तै, अर्का भूकम्प पीडित दीपक धामीले भूकम्पले घर भत्किएको र बस्न नहुने भएपछि आफूहरू आफन्तको घरमा बस्दै आएकाले सरकारले घर निर्माण गरिदिए आफ्नो परिवारलाई ठूलो राहत मिल्ने बताए । अर्का पीडित गोपाल धामीले भने, ‘सम्पत्तिको नाममा त्यही एउटै झुपडी थियो । त्यो पनि भूकम्पले तहसनहस पारिदियो, अहिले छिमेकीहरूको घरमा आश्रय लिनु परेको छ । अस्थायी रुपमा भए पनि टहरा निर्माण गर्न तथा एक छाक खान र एकसरो लगाउने लुगाको व्यवस्था गरिदेउ सरकार ।’

बझाङका भूकम्प पीडितहरूलाई विभिन्न व्यक्ति तथा संस्थाहरूले राहत वितरण गर्न थालेका छन् । भूकम्पले घरवारविहीन भएका उनीहरूलाई त्रिपाल, खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री सहयोग गर्न थालिएको छ ।

मंगलबारको भूकम्प पछि लगातार गइरहेको पराकम्पका कारण बझाङका स्थानीय घर भित्र पस्न सकेका छैनन् । सदरमुकाम चैनपुर आसपास केन्द्रविन्दु भएर सयौं पटक भूकम्पका पराकम्प गइसकेका छन । भूकम्प गएको पाँच दिन भइसक्दा पनि यहाँका पीडितहरूले सरकारको तर्फबाट कुनै पनि राहत नपाएको गुनासो गरेका छन् ।