खाेज्नुहाेस

विश्वविद्यालयको विधेयक अघि बढेपछि उत्साहित, संसदबाट छिटो पास गराउन खबरदारी गरिने

Image

अत्तरिया – कैलालीको गेटामा शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सरकारले संसद्मा पेश गर्ने निर्णय गरेपछि स्थानीय उत्साहित भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।

उक्त निर्णय पछि गेटामा मेडिकल विश्वविद्यालय बन्ने प्रक्रिया अगाडि बढेको भन्दै विश्वविद्यालयका लागि लामो समयदेखि संघर्ष गरिरहेकाहरू उत्साहित भएका हुन । सरकारले मन्त्रिपरिषदबाट गेटामा माघ २९ गते नै शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेपनि सो निर्णय कार्यान्वयनमा जाने सुनिश्चितता नभएको भन्दै सङ्घर्षका कार्यक्रम जारी राखिएका थिए । तर, हाल विधेयको ड्राफ्ट तयार भएर सदनमा पेश गर्ने निर्णय भएपछि अब विश्वविद्यालय बन्नेमा ढुक्क हुने अवस्था सृजना भएको भन्दै संघर्षरत पक्ष उत्साहित भएका छन ।

attariya hospital

शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक लोक राज पाण्डेले मङ्गलबारको मन्त्रिपरिषद्को निर्णय पछि आफूहरू उत्साहित भएको बताए । उनले बिहीबार संघर्ष समितिको बैठक बसेर सरकारको निर्णयको स्वागत गर्दै धन्यवाद ज्ञापन गरिएको बताए ।

navjiwan hospital

संघर्ष समितिको सरकारबाट पारित भएको विधेयक अविलम्ब संघीय संसद्मा पेश गरी पारित गर्न नेपाल सरकार, सम्बन्धित मन्त्रालय, प्रतिनिधि सभाका सभामुख समक्ष अपिल गर्ने निर्णय पनि गरेको छ । बैठकले विधेयक अविलम्ब पास गरी गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालनका लागि दवाव दिन शुक्रबार जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको संघर्ष समितिका सचिव धर्म सिह कुँवरले बताए ।

संघर्ष समितिका सदस्य विनोद विष्टले सरकारले विधेयक संसद्मा पेश गर्ने निर्णय गरेपछि अब गेटामा मेडिकल विश्वविद्यालय बन्ने प्रक्रिया अगाडि बढेको बताए ।

उनले विश्वविद्यालयमा बन्नको लागि विधेयक नै अगाडि बढिसकेकाले विधेयक अनुसार काम अगाडि बढ्ने भएकाले कति शैय्याको अस्पताल सञ्चालन गर्ने भन्ने विवाद पनि अन्त्य भएको बताए । उनले सरकारले चाह्यो भने २१÷२२ दिन भित्रमै विधेयक संसदबाट पास हुन सक्ने बताए ।

‘अहिले हामीले आंशिक सफलता हासिल गरेका छौ’ उनले भने ‘अब यो विधेयक संसदबाट पारित भएर राष्ट्रपति ज्यूको लालमोहर लागेपछि कानुनी प्रक्रियामा पूर्ण सफलता भएको मानिने छ ।’