महेन्द्रनगर – महाकाली सिचाई आयोजनाले तेस्रो चरणको नहरमा परीक्षणका लागि पानी छोड्ने भएको छ । आयोजनाद्वारा जारी एक सूचनामा आज (शुक्रबार) नहरमा पानी छोडिने बताइएको हो । ब्रम्हदेवदेखि फुलैलीको घरकटुवासम्म नहरमा पानी छोडिने भएकोले सो क्षेत्रका वासिन्दालाई आफ्ना बालबालिका, चौपायालगायतको सुरक्षामा ध्यान दिन आयोजनाले आग्रहसमेत गरेको छ ।
निर्माण सम्पन्न भएको मूल नहरमा परीक्षण गरेर पानी सञ्चालनको तयारी भइरहेको आयोजनाका सूचना अधिकारी उमेश गुप्ताले बताए । उनका अनुसार १८.५ किलोमिटर मूल नहरको निर्माणको सम्पूर्ण काम सम्पन्न भएको छ । नेपाल–भारतबीच भएको महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजदेखि नेपाली भूमिसम्म भारतले निर्माण गर्नु पर्ने एक हजार दुई सय मिटर नहर निर्माणको काम सम्पन्न भएको छ ।


२९ माघ २०५२ मा नेपाल र भारतबीच महाकाली सन्धि भएको थियो। सन्धि अनुसार नेपालले टनकपुर बाँधबाट नहरमार्फत वर्षायाममा २८.३५ घनमिटर प्रति सेकेन्ड तथा सुख्खा याममा ८.५० घनमिटर प्रति सेकेन्ड पानी पाउनुपर्छ ।
यो पानी उपयोग गर्नका लागि नेपालले एक सय ५२ किलोमिटर लामो मूल नहर, एक सय ७२ किलोमिटर लामो शाखा नहर र एक हजार २३ किलोमिटरको प्रशाखा नहर निर्माण गर्नु पर्छ । सन्धि भएको १० वर्षपछि आर्थिक वर्ष २०६३/०६४ देखि निर्माण थालिएको नहरमा पानी सञ्चालन हुने भएको हो ।
आगामी आर्थिक वर्षमा मूल नहर निर्माण भएको क्षेत्रमा शाखा नहर निर्माणको प्रक्रिया अघि बढ्ने बताइएको छ । २२ वटा शाखा नहर निर्माणका लागि अहिले जमिन अधिग्रहणको प्रक्रिया जारी छ । २२ वटा शाखा नहरहरू निर्माण भए पाँच हजार तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउन सकिने छ । शाखा नहर निर्माणका लागि झन्डै ८ हेक्टर जमिन अधिग्रहण हुनेछ ।


















