बैतडी – बैतडीमा आधाभन्दा बढी रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीका अनुसार यहाँ हालसम्म ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
असार पहिलो हप्तासम्म वर्षा नहुँदा रोपाइँ हुन नसकेकोमा त्यसपछि धमाधम रोपाइँ हुन थालिएको चौधरीले बताए । सिँचाइ सुविधा भएको ठाउँमा वर्षाअघि रोपाइँ सम्पन्न भए पनि र आकाशे पानीले रोपाइँ हुने क्षेत्रमा वर्षापछि हाल रोपाइँ भइरहेको छ ।

उनले भने, ‘जिल्लाका सबै स्थानीय तहबाट संकलन गरिएको तथ्यांकअनुसार ६० प्रतिशत रोपाइँ भएको छ । वर्षा हुने क्रम जारी छ । अब रोपाइँ बढ्दै जान्छ ।’

जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ । लामो समयपछि वर्षा शुरु भएसँगै बैतडीका किसान खुसी भएका र धमाधम रोपाइँ गर्न थालेका छन् ।
वर्षा भएसँगै रोपाइँ गर्न चटारो परेको बैतडीको दोगडाकेदार–३ श्रीकोटका किसान मानसिंह विष्टले बताए । सिँचाइ सुविधा भएको ठाउँमा रोपाइँ अन्तिमतिर पुगेको र आकाशे पानीले रोपाइँ हुने क्षेत्रमा पनि धमाधम भइरहेको छ ।
उनले भने, ‘वर्षा नहुँदा यसअघि रोपाइँ गर्न सकिएको थिएन, हाल रोपाइँको चटारो छ। सबै रोपाइँमा व्यस्त छौं ।’
यसअघि वर्षा नभएर रोपाइँ गर्न नसकिएको र मकै, भटमास लगायतका वर्षे बाली सुक्ने अवस्थामा पुगेका र वर्षाले राहत भएको किसानले बताएका छन् ।
पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका,सिगास गाउँपालिकाका विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरा धानखेतीका पकेट क्षेत्र हुन् । बैतडीमा ९ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ ।



















