खाेज्नुहाेस

तरकारी खेतीबाट ५ लाख आम्दानी

Image

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–११ दीपनगरका डम्बरबहादुर विष्ट व्यावसायिक तरकारी खेती गरेर गतिलो आम्दानी गर्दै आएका छन् । तरकारी खेतीबाट हुने आम्दानीले विष्टको परिवारको खर्च चल्ने गरेको छ । उनले खेतबारीमा बाह्रै महिना तरकारी खेती गर्छन् । दश कठ्ठा बढी जग्गामा उनले तरकारी खेती गरेर वार्षिक रूपमा दुई लाखदेखि पाँच लाखसम्म आम्दानी गर्दै आएका छन् ।

‘यस वर्षमात्रै दुई कठ्ठा जग्गामा आलुको उत्पादन १२ क्विन्टल भएको छ, जसबाट ४८ हजार आम्दानी भयो’, उनले भने, ‘गोलभेँडा रु ५० हजार बढीको बिक्री भइसकेको छ, बारीमा अझै बिक्री गरेको भन्दा बढी गोलभेँडा बिक्री हुन बाँकी छ, हरियो सागपात, खुर्सानी गरी रु ३० हजार बढीको बिक्री भइसकेको छ ।’

attariya hospital

तरकारी खेती गर्दै जाँदा लगाउने आधुनिक तौरतरिका सिक्दै गएकाले उत्पादन प्रतिवर्ष बढ्दै गएको उनको भनाइ छ । किसान विष्टले आधुनिक तरिकाले तरकारी खेती गर्ने तालिम भने लिएका छैनन् । ‘अन्य किसानले गरेको तरकारी खेती गर्ने तौरतरिका सिकेँ’ उनले भने, ‘विशेषगरी भारतीय किसानले गरेको तरकारी खेती नियाल्न थालेँ, त्यसैअनुरुप खेती गर्दै जाँदा उत्पादन बढ्न थाल्यो ।’

किसान विष्टले पहिला भारतीय बजारबाट तरकारी खरिद गरेर ल्याएर साइकलमा राखेर बेच्ने गर्थे । ‘साइकलमा तरकारी ल्याएर बेच्न निकै मेहनत पथ्र्यो, सीमा क्षेत्रमा सुरक्षाकर्मीको खप्की खानुपर्ने दैनिकी नै हुन्थ्यो’, उनले भने, ‘तरकारी ल्याएर बेच्नुभन्दा आफैँ उत्पादन गरेर बेच्ने निधो गरेँ, त्यसपछि तरकारी खेती गर्न थालेँ, पहिलो वर्ष सिक्नमै लाग्यो, त्यसपछिका वर्ष उत्पादन बढ्दै गयो, आम्दानी गतिलो हुँदै गयो ।’

navjiwan hospital

परिवारको घरखर्चसँगै बालबालिकाको विद्यालयको खर्च तरकारी खेतीबाट हुने आम्दानीबाट धानिँदै आएको उनी बताउछन् । उत्पादित तरकारी स्थानीय बजारमा सहजै बिक्री हुने गरेको छ । पहिला मौसमी तरकारीमात्रै उत्पादन गर्दा सोचेजस्तो आम्दानी हुने गरेको थिएन । मौसमीसँगै बेमौसमी तरकारी खेतीलाई अगाडि बढाएपछि आम्दानी सोचेभन्दा बढी नै हुने गरेको उनले सुनाए ।

‘तरकारी खेतीलाई विस्तार गर्न जग्गा भाडामा लिने योजना बनाएको छु’, उनले भने, ‘यसका लागि उपयुक्त जग्गाको खोजीमा छु ।’ भारतीय तरकारीको निर्भरता कम गर्न आन्तरिक उत्पादनलाई बढाउनुपर्ने उनको सुझाव छ । यसका लागि किसानलाई आधुनिक तरिकाले खेती गर्नका लागि तालिमसँगै आधुनिक यन्त्र, उपकरण, बीउबिजन, विषादी, मलखादका लागि अनुदानको व्यवस्था गरिनुपर्ने उनले उल्लेख गरे । शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्ट किसानलाई व्यावसायिक बनाइ रोजगारीका अवसर सिर्जना गर्नका लागि प्रतिवर्ष कृषिमा बजेट वृद्धि गर्दै लैजान थालिएको बताउछन् ।

‘गत वर्ष कृषिमा रु १० लाख बजेट थियो’, उहाँले भने, ‘चालु आवमा बढाएर रु ५० लाख पु¥याइएको छ, यसले कृषिको उत्पादकत्व बढाउनका लागि सहयोग पु¥याउँछ ।’ उनका अनुसार नगरपालिकाका १२ वटै वडाको कृषि प्रोफाइल तयार गर्ने कार्य अगाडि बढाइएको छ । उहाँका अनुसार घरधुरी सर्वेक्षण कार्यसँगै कृषिसम्बन्धी तथ्याङ्कक सङ्कलन, माटो परीक्षणका लागि आवश्यक जनशक्तिलाई किसानको घरदैलोमा खटाउने तयारी अन्तिम चरणमा पुगेको छ । माटो सुहाउँदो बाली लगाउनका लागि अध्ययनको काम भइरहेको उनको भनाइ छ ।

नगरप्रमुख रणबहादुर महरा प्रत्येक वडाको कृषिसम्बन्धी सम्भाव्यता अध्ययन गरी ‘प्याकेज’का रूपमा कार्यक्रम सञ्चालन गरिने बताउन्छन । किसानले उत्पादन गरेको तरकारी भण्डारण गर्न सहजताका लागि शीतभण्डार निर्माण गर्ने कार्य अगाडि बढेको उहाँले जानकारी दिए ।

रासस