कञ्चनपुर – कञ्चनपुरका विभिन्न सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइएका २ लाख ६२ हजार ७५५ बराबरका सामान बरामद गरेको छ।
आइतबार बेलौरी नगरपालिका–१ फटिया सीमा क्षेत्रमा एफओबी कार्गिलडाँडाबाट सशस्त्र प्रहरी नायब निरीक्षक केवलबहादुर ओलीको कमाण्डमा खटिएको पाँच जनाको पैदल गस्ती टोलीले भारतबाट अवैध रूपमा ल्याइएका २६ हजार ८५० बराबरका कस्मेटिक, सुर्तीजन्य सामग्री तथा ४० लिटर पेय पदार्थ बरामद गरेको हो। बरामद सामग्री भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यस्तै पुनर्वास नगरपालिका–८ मोतियाफाँटा क्षेत्रमा बीओपी कंकडबाट सशस्त्र प्रहरी नायब निरीक्षक कृष्णबहादुर केसीको कमाण्डमा खटिएको पाँच जनाको पैदल गस्ती टोलीले ४० किलो माछा र १५० लिटर पेय पदार्थ बरामद गरेको छ। बरामद सामानको अनुमानित मूल्य २७ हजार रहेको सशस्त्र प्रहरीले जनाएको छ । माछालाई प्रक्रिया पूरा गरी नष्ट गरिएको छ भने पेय पदार्थ भन्सार कार्यालयमा बुझाइएको छ।

यसअघि शनिबार राति पुनर्वास नगरपालिका–११ डोकेबजार सीमा क्षेत्रमा बीओपी डोकेबजारबाट सशस्त्र प्रहरी निरीक्षक हरिबहादुर बिकको कमाण्डमा खटिएको पाँच जनाको सीमा गस्ती टोलीले भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएका १ लाख ७८ हजार ९०५ बराबरका पूजा सामग्री बरामद गरेको थियो। बरामद सामग्री भन्सार कार्यालयमा बुझाइएको छ ।
यस्तै, शुक्रबार बेलौरी नगरपालिका–२ बन्सक्ति सीमा क्षेत्रमा बीओपी थापाचोकबाट सशस्त्र प्रहरी सहायक हवल्दार राजेन्द्रसिंह थारुको कमाण्डमा खटिएको पाँच जनाको पैदल सीमा गस्ती टोलीले भारतबाट भारतीय नम्बर UP26AP453 को मोटरसाइकलमा राखेर अवैध रूपमा ल्याइएका ३० हजार बराबरका १०० किलो ब्रोइलर कुखुरा बरामद गरेको थियो। बरामद कुखुरालाई प्रक्रिया पूरा गरी नष्ट गरिएको छ भने मोटरसाइकल भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार नियन्त्रणका लागि गस्ती तथा निगरानीलाई निरन्तरता दिइरहेको जनाएको छ।

















