अत्तरिया – कैलालीको अत्तरियामा रहेको किसान बहुउद्देश्यिय सहकारी संस्थाको केन्द्र प्रमुखहरुका लागी आयोजित गोष्ठि सम्पन्न भएको छ । संस्थामा आवद्ध सदस्यहरुलाई संगठित गरि गठन गरिएका केन्द्रका प्रमुख तथा उपप्रमुखहरुलाई भेला गरी आयोजना गरिएको गोष्ठि सम्पन्न भएको हो ।
संस्थाका उपाध्यक्ष टिकेन्द्र थापाको सभापतित्वमा सम्पन्न गोष्ठिका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. १ का वडाध्यक्ष तथा नगर प्रवत्ता गोपाल दत्त भट्ट रहेका थिए । कार्यक्रममा बोल्दै नगरप्रवत्ता भट्टले गाउँ गाउँमा सहकारी घरघरमा रोजगारी भन्ने नाराका साथ सञ्चालीत सहकारीहरुले गरिब निमुखा तथा विपन्न वर्गका सदस्यहरुको आर्थिकस्तर उकास्न मद्दत पुगेको बताए ।

उनले सहकारीमा आवद्ध सदस्यहरुले सानो सानो पुँजी एकिकृत गरेर परिवारको जोहो धान्ने काम गरिरहेको समेत बताए । ‘सहकारीका कारण विपन्न वर्गका महिलाहरुले सानो सानो पुँजी जम्मा गरेर परिवारको खर्च धानिरहेका छन’ उनले भने ‘सहकारीकै कारण पछिल्लो समय महिलाहरुले केही कामका लागी पनि परिवारका सदस्य अथवा श्रीमानको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।’


उनले संस्थालाई माथि उकास्न सदस्यहरुको महत्वपुर्ण हात रहने हुँदा सदस्यहरुले ईमान्दार भएर संस्थालाई उचाईमा पु¥याउनुपर्ने बताए । उनले त्यसो हुँदा संस्थाको मात्रै नभई सदस्यहरुको पनि आर्थिक स्तर माथि उठ्ने बताए । त्यसका साथै उनले संस्थाले राम्रो काम गर्ने सदस्यलाई सम्मानित गर्नु, उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गर्नु सकारात्मक पक्ष भएको बताए । उनले २७ जनाबाट सुरु भएको संस्थाले धेरै ठुलो फड्को मारेको समेत बताए ।
कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष टिकेन्द्र थापाले गोष्ठिमा आएका सुझावहरुलाई मनन् गर्दै अगाडी बढ्ने बताए । उनले सदस्यहरुका हरेक क्रियाकलापहरुमा सहकारी अग्रसर रहने र संस्थाले हरेक कदममा साथ दिने बताए । उनले सदस्यहरुको सहयोग र माया कै कारण संस्थाले उचाई हासिल गरेको बताउदै आगामी दिनहरुमा सदस्यहरुको आर्थिक विकासका लागी संस्था सदैव क्रियाशिल रहने बताए ।

यस्तै गरी संस्थाका अत्तरिया शाखा प्रमुख भरत भण्डारीले गाउँमा १० जना भन्दा माथी र ४० जना भन्दा कम व्यक्तिहरु आवद्ध भई गठन गरिएको केन्द्रका प्रमुख र उपप्रमुखहरुलाई बोलाएर संस्थामा हुने समस्या तथा भावी योजनाहरुका बारेमा छलफल गरिएको बताए । उनले संस्थाले प्रत्येक वर्ष गोष्ठिको आयोजना गर्ने गरेको बताए । उनले संस्थाले गोष्ठिमा सदस्यहरुलाई सहकारीका तर्फबाट हुने समस्याहरुका बारेमा जानकारी राख्ने गरेको समेत बताए । गोष्ठिमार्फत संस्थामा सबैभन्दा उत्कृष्ट केन्द्रलाई सम्मानित गरिनुका साथै विभिन्न विधामा उत्कष्टलाई सम्मानित गर्ने गरिएको उनले बताए ।
कार्यक्रममा विभिन्न संघसंस्थाबाट प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा उत्कृष्ट केन्द्रहरुलाई सम्मानित गरिएको थियो भने एसईईमा उत्कृष्ट नतिजा ल्याउने सदस्यका छोराछोरीहरुलाई पनि सम्मानित गरिएको थियो ।

















