लम्की – कैलालीमा जालपादेवी केबलकार निर्माण हुने भएको छ । कैलालीको मोहन्याल गाउँपालिका र लम्किचुहा नगरपालिकामा केबलकार सहित होटल बने भएको हो । यसका लागि जालपादेवी केबलकार परियोजना वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार पारिएको छ । आयोजनाले तयार पारेको रिपोर्ट स्वीकृतिका लागि रायसुझाव माग गरिएको छ ।
केबलकारको माथिल्लो स्टेशन मोहन्याल गाउँपालिका – ७ मा पर्ने छ भने तल्लो स्टेशन लम्किचुहा नगरपालिको वडा नम्बर ३ मा पर्ने छ ।


केबलकारको लम्बाई ३ दशमलब १ किलोमिटर हुनेछ । केबलकारमा कुल ३४ वटा बक्स सञ्चालन हुनेछ । प्रतिबक्स यात्रु क्षमता ८ जनाको हुने कम्पनीले जनाएको छ । केबलकारले प्रतिदिन ६ हजार यात्रुलाई सेवा दिन सक्नेछ ।
केबलकारको स्पिड प्रति सेकेन्ड ६ मिटरको हुने कम्पनीको दाबी छ । केबलबारको तल्लो स्टेशनबाट माथिल्लो स्टेशनसम्मको यात्रा अवधि १० मिनेटको हुनेछ । केबलकारको क्याविन दुरी २२५ मिटर हुने छ भने १५ वटा टावर हुनेछ ।
यसैगरी परियोजना भित्रै १ सय रुम तथा १ सय ६० बेडको होटल संरचना बन्ने भएको छ । होटलका लागि ३ वटा कमर्सियल भवन बन्ने कम्पनीले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ । भुँइतलासहित ६ तलाको होटल संरचना बन्ने छ ।
भुँइ तलामा किचन, कफी सप, पार्टी हल, रेष्टुराँ, बैठक हल र शौचालय बन्ने कम्पनीले जनाएको छ । अन्य तलामा होटलका रुमहरु रहने छ । आयोजनको कुल लागत २ अर्ब ६४ करोड रहने कम्पनीको अनुमान छ ।



















