महेन्द्रनगर – कञ्चनपुरको बेदकोट नगरपालिका स्थित दैजीछेला औद्योगिक क्षेत्रको काम सुरु भएको छ । अढाई दशकदेखि चर्चामा रहको औद्योगिक क्षेत्र निमार्ण स्थलको रुखहरु छपानको काम सुरु भएको बेदकोट नगरपालिकाका नगर प्रमुख भोज राज बोहराले बताए ।

‘प्रस्तावित औद्योगिक क्षेत्र निमार्णस्थलका २५ हजार रुख छपानको का सुरु भएको छ’ उनले भने ‘रुख छपान कार्य सकिएपछि निमार्ण अघि बढ्छ यसका लागि सरकारले एक अर्ब बजेट विनियोजन गरिसकेको छ ।’

औद्योगिक क्षेत्रको दुई वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरिसकेका छन । रुख छपानको काम सुरु भएपनि जग्गाको स्वामित्व हस्तान्तरण हुन बाकि रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुले जनाएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सुचना अधिकारी प्रकाश खड्काले औद्योगिक क्षेत्र निमार्ण स्थलका रुख छपानको काम अघि बढेको बताए । ‘वन कार्यालयबाट रुख छपानको काम सुरु भएको छ जग्गाको स्वामित्व हस्तान्तरण पक्रियामै छ’ उनले भने ‘बजेट अपुग र ईआई लगायतको कामले निमार्णमा ढिलाई भएको हो ।’ उनले झन्झटिलो पक्रिया र सरकारको प्राथमिकतामा नपर्नुले पनि औदोगिक क्षेत्र निमार्णको कामले गति लिन नसकेको बताए ।
औद्योगिक क्षेत्र स्थापनाका लागि बेदकोट नगरपालिका –२ स्थित जनचेतना सामुदायिक वन र वडा–३ स्थित वेदकोट सामुदायिक वनको नौ सय विघा क्षेत्रफल घोषणा गरिएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले दैजीछेला औद्योगिक क्षेत्रको चर्चा धेरै भएकाले अब औद्योगिक क्षेत्र स्थापनामा ढिलाई गर्न नहुने बताए । ‘महाकाली नदीमा बनेका चार लेनको पक्कीपुल भारतको एसियन राजमार्गसंग जोडिए मात्रै औद्योगिक क्षेत्रले सार्थकता पाउँछ’ उनले भने ‘औद्योगिक क्षेत्र र नाका भारतसंग जोड्न सरकारले प्राथमिकताका साथ काम गर्नुपर्छ ।’
औद्योगिक क्षेत्रका लागि ०६६ सालमा जिल्ला वन कार्यालयले जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसपछि जनचेतना सामुदायिक वन र वेदकोट सामुदायिक वनको ९ सय बिघा दिने निर्णय भएको थियो । मन्त्रिपरिषदले पनि चारकिल्लाभित्र औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरिसकेको छ । डीपीआर र र्ईआईएको कामसमेत सम्पन्न भइसकेको छ ।
दैजीछेला औद्योगिक क्षेत्रभित्र खाद्य, वन तथा कृषि, धातु, प्लाष्टिक, ईन्जिनियरिङ र फेव्रिकेटिङ, मिनरल वाटर, कागज, सिमेन्ट, छड लगायतका एक सय उद्योग स्थापना गर्न सकिने अध्ययन प्रतिवेदनमा उल्लेख छ । औद्योगिक क्षेत्र स्थापना भए यहाँका दुई हजारबढीले रोजगारी पाउने छन ।