अत्तरिया – सम्झौताको ३ वर्ष बित्न लाग्दा पनि कैलालीको गोदावरी नगरपालिका – ९ सेहरीको झोलुङ्गे पुल सम्पन्न हुन सकेको छैन । वडाको राजिफाँटा र बल्मीका स्थानीयहरुलाई वडा कार्यालयसँग जोड्नका लागी निर्माण थालिएको उक्त पुलको हालसम्म पिल्लर निर्माण बाहेकका अरु काम हुन सकेको छैन । वडा कार्यालयमा सेवा लिनका लागी आउने वडाबासीले वडा नम्बर ८ भएर आउनुपर्ने बाध्यताको अन्त्य गर्न निर्माण थालिएको उक्त पुलको दुवै तर्फका पिल्लरहरु बनाउने काम मात्रै सम्पन्न भएका छन ।
वडाका तत्कालिन वडाध्यक्ष लहानु चौधरीले बल्मीबासीलाई वडासँग जोड्नका लागी पुल निर्माण सुरु गरिएको बताए । उनले बल्मी र राजिफाँटा बासीलाई वडा नम्बर ८ स्याउलेबजार घुमेर वडा कार्यालय जानुपर्ने बाध्यतात्मक परिस्थिती रहेकाले त्यसको समाधानका लागी पुल निर्माण गर्ने योजना माग गरिएको बताए । उनले माग बमोजिम योजना सुरु भएपनि काममा ढिलाई भएको बताए ।
‘वडालाई आवश्यक परेको योजना तहगत रुपमा जस्ले प्रदान गर्न सक्छ, उसैलाई माग गरेका थियौ, त्यसअन्र्तगत यो पुल चाँही संघ सरकारमार्फत आएको हो’ उनले भने ‘सुरुवाती चरणमा तिब्र गतीमा काम भएको थियो, तर पछि काम रोकियो, सामग्री अभाव भएको भन्ने बुझ्नमा आएको छ ।’ उनले पुल निर्माण भए स्थानीयबासीहरुका लागी छोटो र सजिलो यात्रा हुने बताए ।
स्थानिय ठग्गुराम चौधरीले पुल नबन्दा वडाबासीलाई समस्या भैरहेको बताए । उनले वडा कार्यालयमा सेवा लिनका लागी सहज होस भनेर निर्माण सुरु गरिएको पुल छिटो सम्पन्न हुनुपर्नेमा ठेकेदारकों लापरबाहीका कारण ढिलाई भैरहेको बताए । ‘पारीपट्टि वडाकै २ वटा टोलहरु छन, उनीहरुलाई आवत जावतमा सहजताका लागी पुल बनाईएको हो’ उनले भने ‘त्यति मात्रै हैन, हामी थारु समुदायहरुको भल्का पनि उतै छ, त्यहाँ पुजा गर्नलाई पनि हामीहरुलाई पुल भए एकदमै सहज हुन्थ्यो ।’ उनले वडाबासीको आवश्यकता महसुस गरेर करिब ३ वर्ष अघिदेखि सुरु गरिएको पुल हालसम्म पनि निर्माण सम्पन्न नहुनु दुःखद भएको बताए ।
सोही वडाकी कमल पुल रानाले खुटिया नदी पारी आवत जावत गर्नका लागी पुलको आवश्यकता रहेको भएपनि पुल बन्न नसकेको बताईन् । उनले पुलको ढिलाई हुनुका पछाडी ठेकेदारकै लापरबाही रहेको बताईन् । उनले पुल बने पुल पारी पट्टीका राजिँफाँटा र बल्मीमा तरकारी बेचविखनका लागी पनि जान सहज हुने बताईन् । ‘खोलामा पानी कम हुँदा खोला तरेरै तरकारी बेचविखनका लागी जान्छौ’ उनले भनीन ‘खोलामा बाढी आउँदा तरकारी बेच्न सकिदैन, वर्षातको समयमा बारीमा फलेको तरकारी कुहिने डरले सताउने गर्छ ।’ उनले सेहरीबाट स्याउले बजार आउने बाटो भएपनि साधन नहुँदा बजार सम्म तरकारी पु¥याउन समस्या हुने गरेको बताईन् । उनले छिटो भन्दा छिटो पुल बनाईदिए आफुहरुलाई पुजाका लागी भल्का जान सजिलो हुने र उत्पादन गरेका वस्तुहरु पनि सहज रुपमा विक्रिवितरण गर्न सकिने बताईन् ।
पुल वारीपट्टि रहेको राजिफाँटाका स्थानीय गोबिन्द नेपालीले वडा कार्यालयमा सेवासुविधा लिनका लागी पुल भए सहज हुने बताए । उनले पुल नहुँदा वर्षातको समयमा करिब ६ किलोमिटर घुमेर वडा कार्यालय पुग्नुपर्ने बाध्यता रहेको बताए । ‘पुल भए यताबाट हामीलाई वडा कार्यालय पुग्न १ किलोमिटर जती लाग्छ’ उनले भने ‘तर अहिले पुल नहुँदा ६ किलोमिटर घुमेर हामीले स्याउले बजारबाट वडा कार्यालय जानुपर्ने बाध्यता छ ।’ उनले वडा कार्यालयको कामका लागी मात्रै नभई वर्षमा अन्नको जोहो गर्न पनि सेहरी धनचौरी तिर जानुपर्ने भएकाले छिटो पुल बने सहज हुने बताए ।
यस्तै सोही ठाउँका राजेश बिकले पुल नहुँदा वडा कार्यालयमा जान असहज भैरहेको बताए । उनले भने ‘वडातिर कोही न कोही मानिसले दैनिक जानुपर्छ । हिउँद तिर त पानी कम हुन्छ, सजिलै वारपार गर्न सकिन्छ । तर वर्षायाममा ६ किलोमिटर घुमेर जानुपर्ने बाध्यता छ, हामी युवाहरु त नदीबाटै जसोतसो जान्छौ, बुढापाकाहरुलाई भने समस्या छ ।’ पुल निर्माणको कार्यमा ढिलाई हुनुमा ठेकेदारको लापरबाही भएको बताउदै उनले सम्बन्धीत पक्षले निर्माण कम्पनीलाई छिटो भन्दा छिटो पुल सम्पन्न गर्न निर्देशन दिनुपर्ने बताए ।
यता वडा नं. ९ का वडाध्यक्ष रामलाल रानाले आफुले निर्वाचित हुने वित्तिकै पुलको यथासक्य निर्माणका लागी ठेकेदारलाई निर्देशन दिएको बताए । उनले ठेकेदारले झोलुंगे पुलका लागी लठ्ठा अभाव भएकाले त्यसको जोहो गरेर निर्माण सुरु गर्ने जनाएको बताए । ‘म निर्वाचित भएर आएलगत्तै सर्वप्रथम ठेकेदारसँग सम्पर्क गरेर यो पुलको निर्माण छिटो गनुप¥यो भनेर निर्देशन दिएको थिए’ उनले भने ‘ठेकेदारले ६ महिना समय थप भएको र लठ्ठा अभावका कारण सुरु हुन नसकेको बताउनुभएको थियो । उहाँले आफु विराटनगर गएर लठ्ठा ल्याईरहेको समेत बताउनुभएको थियो ।’ ठेकेदारले मंसिर भित्र पुल निर्माण गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।
२ सय ७९ मिटरको उक्त पुल निर्माणका लागी पुर्वाधार विकास कार्यालय कैलालीले २०७६ मंसिर ८ गते काठमाण्डौको खम्पाचे थानी रुबिना जेभीसँग सम्झौता गरेको थियो । २०७८ जेठ ५ गतेभित्र सम्पन्न गरिसक्ने गरी रु. २ करोड ७० लाख ७ हजारमा कम्पनीसँग सम्झौता गरेको कार्यालयले जनाएको छ ।
कोभिडको महामारी र पुलका लागी आवश्यक सामग्रीको अभावका कारण पुल निर्माणमा ढिलाई भएको ठेकेदार कम्पनी खम्पाचे थानी रुबिना जेभीका ठेकेदार अर्जुन तिमल्सीनाले बताए । उनले सुरुवाती चरणमा कोरोनाको महामारीका कारण र पछिल्लो समय पुलको लठ्ठा नपाईदा काम हुन नसकेको बताए । ‘सुरुमा त कोभिडले समस्या ग¥यो । त्यसपछि काम सञ्चालन गर्ने भनेको पुलका लठ्ठाको अभाव भयो । त्यसैले समयमै काम हुन सकेन’ उनले भने ‘अहिले म्याद थप भएको छ, अब मंसिरसम्म काम सकिन्छ ।’ उनले पुलको अरु सबै काम सकिएको र पुलको लठ्ठा बाध्ने तथा फलामको पिल्लर बनाउने काम मात्रै बाँकी रहेको बताए ।
करिब ३ वर्षवित्नै लाग्दा पनि झोलुंगे पुलको आधा पनि काम हुन सकेको छैन । कम्पनीले दुवै तर्फका पिल्लरहरु उठाउने बाहेक अरु काम गरेको छैन । तर पुर्वाधार विकास कार्यालय कैलालीले दुई किस्ता वाफत कम्पनीलाई काम भन्दा बढी रकम भुक्तानी गरिसकेको छ । कार्यालयले २०७७ चैत ९ गते पहिलो किस्ता वाफत ५४ लाख १४ हजार ८ सय ५५ रुपैया र २०७८ असार २१ गते दोस्रो किस्ता वाफत रु. १ करोड २ लाख ५६ हजार ९ सय ५५ गरी जम्मा १ करोड ५६ लाख ७१ हजार ८ सय ५० रुपैया कम्पनीलाई भुक्तानी दिईसकेको छ । सम्झौता अनुसारको समायावधी सकिएर कार्यालयले थप गरेको समयमा १६ महिना गैसकेपनि निर्माण कम्पनीले लठ्ठा ल्याएर फाल्ने बाहेक अरु काम सुरु गर्न सकेको छैन । ५८ प्रतिशत भन्दा बढी रकम पाईसकेको निर्माण कम्पनीले थप भएको समयको हालसम्म काम सुरु नगर्दा पनि सम्बन्धीत निकाय भने मौन छ ।
पुर्वाधार विकास कार्यालय कैलालीका सव ईन्जिनियर विनोद खड्काले निश्चित समयावधीमै निर्माण सम्पन्नका लागी निर्देशन दिएपनि ठेकेदार कम्पनीले झोलुंगे पुलका लागी लठ्ठा अभाव भएको भन्ने जानकारी दिएको बताए । ‘सम्झौताको समयावधी सकिएपनि लठ्ठा अभावका कारण काम हुन नसकेको भन्ने जानकारी आएपछि समयावधी थपिएको छ’ उनले भने ‘अब प्राविधिक रुपमा सामग्री नै अभाव भए काम गर्नलाई समस्या हुन्छ, उहाँले लठ्ठा नपाएर ढिलो भएको रहेछ ।’
सो झोलुंगे पुल जस्तै उक्त निर्माण कम्पनीले कैलालीकै अन्य ४ ठाउँमा पनि झोलुंगे पुल निर्माणका लागी कार्यालयसँग सम्झौता गरेको छ । कार्यालयले कैलालीकै कान्द्रा नदी, खोनपुर नदी र ट्याना नदीमाथी झोलुंगे पुल निर्माण गर्नका लागी सोही कम्पनि सँग सम्झौता गरेको कार्यालयका सव ईन्जिनियर खड्काले बताए । तर ति सबै झोलुंगे पुलहरुको पनि निर्माण कार्य सम्पन्न भएको छैन ।
करिब तिन वर्ष सम्म २ वटा पिल्लर मात्रै बनेको उक्त पुल खोलाले कटान गर्ने जोखिममा समेत पुगेको छ । झोलुङ्गे पुलका लागी बनाईएको पिल्लर नजिकसम्म खुटिया खोलाले कटानी गरिसकेको छ । कटान गरिएको ठाउँमा तटबन्ध नगरिए पुल बन्नुभन्दा अगाडी नै खोलाले लैजान सक्ने सम्भावना उत्तिकै छ । पुलभन्दा अगाडी खोलाको क्षेत्रमा बलियो तटबन्ध गरेमात्रै पुललाई जोगाउन सकिने अवस्था रहेको छ । हिउँदको समयमा खोलामा खासै पानी नभएपनि वर्षायाममा आउने बाढीले पुललाई जोखिममा पार्न सक्ने देखिन्छ ।