अत्तरिया – अर्थव्यवस्था कमजोर भई देश आर्थिक संकटको बाटोमा लागीसकेको अत्तरियामा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन । सोमबार कैलाली चेम्बर अफ कमर्श र गोदावरी चेम्बर अफ कमर्शले आयोजना गरेको दशैको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी व्यापारीहरुले उक्त कुरा बताएका हुन । देशमा अर्थतन्त्रको अवस्थामा भारी गिरावट आएका कारण देश नै आर्थिक संकटको बाटोतिर उन्मुख भैसकेको उनीहरुले बताए ।

कार्यक्रममा बोल्दै अत्तरियाका व्यापारी तिर्थराज ओझाले देश आर्थिक संटकको दिशातिर लागेको कुरा घोषणा हुन मात्रै बाँकी रहेको बताए । उनले देशमा विगत एक वर्षदेखि लागेको आर्थिक मन्दीले पनि सो कुरा पुष्टि पारेको बताए । उनले आर्थिक मन्दीकै कारण व्यापारी व्यवसायीहरुले समस्या बेहोरिरहनुपरेको बताए ।

‘बैंकको व्याजदर दिनानुदिन बढीरहेको अवस्था छ भने जनताको क्रय शक्ति घटिरहेको अवस्था छ’ गोदावरी चेम्बर अफ कर्मशका अध्यक्ष समेत रहेका उनले भने ‘देशमा आर्थिक मन्दी छाएका कारण व्यापारी व्यवसायीहरुको सर्वस्व नै गुम्ने खतरा बढेको छ ।’ उनले देशको अर्थतन्त्र ओरालो लागीरहेको अवस्थामा यहाँको व्यापार बचाउन व्यापार व्यवसाय संग सम्बन्धीत सम्पुर्ण संघसंस्थाहरु एकजुट भएर अगाडी बढ्नुपर्ने अवस्था आएको बताए । साथै उनले अर्थतन्त्रका विषयमा नागरिकलाई सजग बनाउने खालका सुचनाहरु सम्प्रेषण गर्न मिडियाहरुलाई पनि आग्रह गरे ।
कार्यक्रममा बोल्दै व्यवसायी विनोद मल्ल (भिप्लभ) ले आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ओरालो लागेको बताए । उनले व्यापार व्यवसायमा कमी आउँदा नै देश आर्थिक संकटको बाटोमा लम्कीरहेको बताए । ‘कच्चा पदार्थहरु समयमा नपाउँदा उद्योगहरुले चाहेको मुल्यमा वस्तु उत्पादन गर्न सकिरहेका छैनन, जसले गर्दा होलसेलर र रिटेलरले चाहेको मुल्यमा बस्तुहरु विक्रि गर्न पाईरहेका छैनन’ उनले भने ‘त्यसैले गर्दा ग्राहकहरुले नेपाली बजार भन्दा भारतिय बजार रोजिरहेका छन ।’
उनले अस्वस्थ व्यवसायीकरणका लागी बजारमा सामग्री खरिद गर्ने ग्राहकको संख्यामा कमि आएको बताए । उनले सरकारले टिक पटक मौद्रिक निति फेरिरहदाँ पनि उक्त समस्याहरु उत्पन्न भैरहेको बताए । उनले व्यवसायी र कलकारखानालाई हेर्ने सरकारको नजर नै स्पष्ट नभएको टिप्पणी गरे ।
‘अत्यावश्यक बाहेकका सामग्री देशमा भित्र्याउन नदिने निर्णय गर्ने सरकारले सेनेटरी प्याड, मास्क लगायतका वस्तुमा ९५ प्रतिशत भन्सार छुट दिन्छ’ कैलाली चेम्बर अफ कर्मशका अध्यक्ष समेत रहेका उनले भने ‘विदेशी वस्तुसँग प्रतिष्पर्धा गर्न नसक्दा नेपाली कलकारखानाहरुले सामग्री उत्पादन गर्न सकिरहेका छैनन, जसका कारण देशका ७ हजार उद्योगहरु बन्द अवस्थामा रहेका छन ।’ उनले सरकारले स्पष्ट विचार र धारणा राखेर व्यापारी व्यवसायी एवम् कलकारखानाहरुको सञ्चालनलाई सहज तुल्याए मात्रै आर्थिक संकटको स्थितिबाट छुट्कारा पाउन सकिने बताए ।
उनले मौद्रिक नीतिलाई सम्बोधन गर्नका लागी कर्मचारीलाई पाल्ने नभई कलकारखानाहरु फस्टाउने कार्यमा ध्यान दिनुपर्ने बताए । ‘सरकारले ऋण तिरेर कर्मचारीलाई तलब दिने बाटो थालेको छ, तर व्यापारीहरुको पिर मर्काका विषयमा कसैले विचार पु¥याएको छैन’ उनले भने ‘जबसम्म बैंकहरुको व्याजदर एक अंकमा खस्दैन तबसम्म हाम्रो व्यवसाय सुरक्षित छैन भन्ने व्यापारीहरुमा चिन्ता बढेको छ ।’ उनले नेपाली बजार सुक्नु र भारतिय बजारमा घुँईचो हुनुका पछाडी नागरिकहरुमा चेतनाको कमी हुनु रहेको बताए ।
उनले जनस्तरमा स्थानिय सरकार र प्रदेश सरकारले वस्तुहरुको बारेमा जानकारी दिने तथा त्यसको मुल्यको बारेमा जानकारी दिने गरी नागरिकलाई जागरुक बनाउन जरुरी रहेको बताए । त्यसो हुँदा केही हदसम्म भारतिय बजारमा जाने नागरिकहरुलाई नेपाली बजारमा रोक्न सकिने उनको भनाई छ । उनले भन्सार नितिमा फेरबदल नहुँदा सम्म नेपाली व्यापार व्यवसाय सुक्दै जाने समेत बताए ।
कार्यक्रममा अत्तरियाक्षेत्रका व्यापारीहरुको सहभागीता रहेको थियो । व्यापार व्यवसायमा आएका समस्याहरु र ति समस्याहरुको समाधानका लागी कस्ता कुराहरुको अवलम्बन आवश्यक छ भन्ने विषयमा पनि कार्यक्रममा छलफल भएको थियो ।