अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले नापिको कार्यलाई राजनीति सँग नजोड्न आग्रह गरेका छन । मंगलबार नगरपालिकाको वडा नम्बर २ अठन्नीफाँटामा नापि कार्यको सुभारम्भ गर्दै उनले उक्त कुरा बताएका हुन । उनले जग्गा नापिको कार्यलाई राजनीतिक मुद्धा नबनाई सहज रुपमा नापिको काम सुचारु हुने वातावरण सिर्जना गर्न अनुरोध गरेका छन ।
‘कतिपय साथीहरुले फेसबुकमा लेख्दै नापिको कार्यलाई राजनीतिसँग जोड्नुभएको छ’ उनले भने ‘तर म विनम्र सँग के अनुरोध गर्न चाहन्छु भने यो नापि सँग प्रभावित भएर कसैले कुनै अमुक दललाई भोट नदिनुहोला, भोट आफ्नै दलमा दिनुहोला, आफ्नै दलका लागी भोट माग्नुहोला ।’ उनले राजनीतिसँग नजोडेर नापिलाई सुचारु रुपमा अगाडी बढ्नदिन सबैलाई अनुरोध गरे । उनले नगरपालिकामा नापिका लागी मेहनत र संघर्ष गर्नुपरेकाले यसलाई विथोल्ने काम नगर्न आग्रह गरे ।

नगरका भूमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासीहरुलाई जग्गाको प्रमाणपुर्जा उपलब्ध गराउने गरी जग्गा नापिको काम सुरु गरिएको उनले बताए । उनले अहिलेको परिस्थितिमा नापि एकदमै महत्वपुर्ण रहेको बताए । नगरबासीहरुलाई जग्गाको मालिक बनाउन आफु २४सै घण्टा खटिन तयार रहेको बताउदै उनले जग्गाको मालिक बन्ने कृष्णपुर बासिको वर्षाैदेखिको सपना साकार भैरहेको समेत बताए ।
‘हामी भन्दा अगाडीका पुस्ता नापि–नापि भन्दै वितेर जानुभयो’ उनले भने ‘उहाँहरुको भावनाको कदर गर्नुपर्ने र नापि गरेर सबै नगरबासीका हात हातमा जग्गा धनी प्रमाणपुर्जा प्रदान गर्ने हाम्रो नैतिक दायित्व हो ।’
उनले आफु निर्वाचित भएर आईसकेपछि नापिलाई कुन मोडालिटिमा लैजाने भन्ने बारेमा पनि पटक पटक छलफल गरेको बताए । आफु काठमाण्डौ गएर भूमि व्यवस्था मन्त्रालयका मन्त्रि, सचिव तथा सहसचिवलाई भेटेर नगरपालिकाको समस्याको बारेमा कुरा राखेको बताउदै उनले अत्याधुनिक प्रविधिबाट काम गर्ने गरी सबैले सकारात्मक रुपमा सहयोग गरेकाले कृष्णपुरमा नापिको काम सुरु भएको बताए ।

उनले आगामी ४ महिना भित्रै नापि सकेर जनताले चाहेको भन्दा छिटो लालपुर्जा वितरण गर्ने गरी नगरपालिकाले कार्य गर्ने बताए । नगरभरी नापजाँच गर्ने खर्च नगरपालिकाले बेहोर्ने बताए । उनले जग्गाको राजश्व भने नगरबासी स्वयम्ले बेहोर्नुपर्ने बताए ।
उनले शुल्क महंगो भएकाले कतिपय वितरण गर्नुपर्ने लालपुर्जा समेत रोकिएको बताए । उनले शुल्क घटाउन भूमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलासँग छलफल गरीसकेको र केही कम गर्ने प्रस्ताव भएको बताए । उनका अनुसार अत्याधुनिक प्रविधि भएका कारण नगरपालिकामा नापिको काम गर्न सहज र छिटो छरितो हुने छ ।

यस्तै राष्ट्रिय भूमि आयोग कञ्चनपुरका सदस्य दिल बहादुर देउवाले नापि कार्य प्रारम्भ हुनु राम्रो भएको बताए । उनले नापिको कार्यलाई समयमै सुभारम्भ गरी समयमै सम्पन्न गर्ने कार्यमा सहयोग गर्नु सबै वडाबासीको दायित्व भएको बताए । उनले नगरमा नापिको कार्यका लागी राष्ट्रिय भूमि आयोग कञ्चनपुरले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी वडाध्यक्ष अजुर्न साउँदले वडाबासीको ४०औ वर्षपहिले देखिको सपना साकार हुन लागेको बताए । उनले ४० वर्ष अघि केही केही ठाउँमा नापि भएको र पछिल्लो समय पनि – २ को केही ठाउँमात्रै नापेर नापि टोली फर्किएको बताए । उनले राजनीतिक पुर्वाग्रहका कारण वडा नम्बर २ कै केही स्थानमा नापि नभएको बताउदै अब भने त्यसो नहुने बताए । उनले जंगली, विकट तथा उजाड क्षेत्र भनेर चिनिने बंक क्षेत्र अव ऐतिहासिक रुपले फड्को मारिरहेको बताए ।
करिब ४ दशकदेखि आफ्नै जमिनको स्वामित्व विहिन बनेका वडाबासी अब भने जमिनको मालिक हुने उनको भनाई छ । उनले जग्गा नापिको कार्यमा सहयोग पु-याईदिन सबै वडाबासीहरुलाई आग्रह पनि गरे ।
कृष्णपुर नगरपालिकामा करिब ७० प्रतिशत ऐलानी जमिन रहेको बताईएको छ । नगरपालिकाको तथ्यांक अनुसार जग्गाको लालपुर्जाका लागी नगरपालिकामा करिब १६ हजार फाराम भरिएका छन । लालपुर्जा बिहिन बनेका स्थानीयहरु पनि लालपुर्जा पाईने आशामा खुसी देखिएका थिए ।

















