कञ्चनपुर – कञ्चनपुरको पर्यटकिय क्षेत्र बतासे झर्नाको पानी धारापानी गाउँमा लगिने भएको छ । चुरे फेदीमा रहेको उक्त गाउँमा शुक्लाफाँटा नगरपालिका– ८ ले खानेपानी विस्तार गर्न योजना अगाडी बढाउको हो ।
वडा कार्यालयले आब ०७८/७९ को ४ लाख ९० हजार बजेट परिचालन गरी खानेपानी निर्माण कार्य अगाडि बढाएको छ ।


जसका लागि बतासे झर्नामा खानेपानीको इन्टेक टंकी निर्माण गरी धारापानी गाउँसम्म खानेपानी पु-याउन पाइपलाइन बिछ्याउन शुरु गरिएको छ । चार किलोमिटर क्षेत्रमा पाइपलाइन बिछ्याइरहेको वडाध्यक्ष बहादुरसिंह महराले बताए ।

‘मुहानदेखि गाउँसम्मको दूरी चार किलोमिटर छ’, वडाध्यक्ष महराले भने, ‘सोही अनुरूप पाइपलाइन बिछ्याउने काम गरिरहेका छौं ।’
खानेपानीका लागि स्थानीय बासिन्दाले कुल लागतको २० प्रतिशत श्रमदान गर्नुपर्ने छ। त्यसका लागि स्थानीय बासिन्दा श्रमदानमा जुटेका छन् ।
धारापानी गाउँमा विसं २०२४ सालमा बस्ती बसेको हो । बस्तीमा बस्दै आएका १८ परिवारका घरघरमै खानेपानीको धारा जडान गर्ने वडा कार्यालयले योजना बनाएको छ ।
‘खानेपानीको व्यवस्था नहुँदा वर्षौंदेखि खोलाको पानी पिउन बाध्य थियौं’, स्थानीय साइमले धामीले भने, ‘घरमै खानेपानीको धारा जडान गर्ने काम अघि बढाइएपछि निकै खुसी छौं ।’
वर्षातका बेला खोलाको धमिलो पानी पिउनुपर्ने बाध्यता थियो। खानेपानीका धारा घरमै पु¥याउने कार्य शुरु भएपछि विगतको पानीको समस्या हटेर जाने उनले बताए ।
धारापानीका स्थानीय बासिन्दासँगै पर्यटकीय क्षेत्र बतासे झर्ना जाने आन्तरिक तथा बाह्य पर्यटका लागि समेत पदमार्गमा खानेपानीका धारा राख्नका लागि समेत पहल भइरहेको वडाध्यक्ष महराको भनाइ रहेको छ ।


















