खाेज्नुहाेस

अट्वारी अन्तरगत आज छोरीचेलीको घरमा ‘अग्रासन’ पुर्‍याइदैं

Image

धनगढी – पश्चिम तराईका थारू समुदायले आइतबारदेखि मनाउन सुरु गरेको अट्वारी पर्व आज पनि मनाउँदै छन । दाजुभाइ र दिदीबहिनीको सद्भावको पर्वका रूपमा लिइने अट्वारी यो समुदायमा महत्वपूर्ण मानिन्छ ।

आइतबार बिहानैदेखि थारू पुरुषहरू नजिकका ताल, नदी, धारा तथा जलाशयमा गई स्नान गरी पूजाआजा गरेका थिए । अट्वारीका दिन पुरुषहरू दिनभर व्रत बसेर पाँच पाण्डवमध्येका भीमको पूजा गर्ने गर्छन् । व्रत बसेका पुरुषहरूले स्नानपछि विशेष काठबाट निकालिएको आगोमा रोटी पकाउने र पूजा गरी रमाइलो गर्ने चलन छ । थारू समुदायले सोमबार त्यही काठबाट निकालिएको आगोमा पकाएको परिकार छोरीरचेलीलाई पाहुर अर्थात् अग्रासनका रूपमा लगिदिने चलन छ ।

attariya hospital

आजको दिन ‘फर्हार’ गरिन्छ । फर्हार नहुँदासम्म पानी समेत नखाएर निराहार बस्नु पर्छ । फर्हार अटवारीको अन्तिम पूजा होे । यस दिन व्रतालुहरु बिहानैदेखि खानपिनको तयारीमा जुटेका हुन्छन् ।

घरका अन्य सदस्यहरुले पनि सहयोग गरेका हुन्छन् । आजको खानामा खास गरेर भात, खँरिया, फुलौरी, पोंइ मिसाएको ठुसा, सुखौरा माछा, चिचिण्डो, घिरौला, भेन्डी लगायतका विजोर संख्यामा तरकारीहरु बनाइएको हुन्छ । माछाको सुखौरा विशेष मानिन्छ तर मासु भने हुँदैन । फर्हारपछि मात्रै मासु ल्याउने या खाने गरिन्छ ।

navjiwan hospital

फर्हार, सबै पकवान तयार भएपछि शुरु हुन्छ । व्रतालुहरु अघिल्लो दिनको जस्तै नुहाई धुवाई गरी अगयारी दिएर आफ्ना चेली बेटीहरुका लागि ‘अग्रासन’ निकाल्ने गर्छन् । अग्रासन धातु वा प्लाष्टिकको भाँडामा निकालिदैन । अग्रासन बिशेषताः नम्ह्रैन (मालु), कमल या केराको पातमा निकाल्ने गरिन्छ ।

अटवारी आउनुभन्दा केही दिन पहिले नै पात टिप्ने काम हुन्छ । प्रायः अग्रासन पात खुटेर बनाएको दुना टपरीमा निकालिन्छ । त्यो नभए विकल्पको रुपमा कमलको पात या केराको पात प्रयोेग भएको पनि पाइन्छ । यसरी प्रक्रियागत रुपमा सबै कार्य पूरा भइसकेका पछि मात्र व्रतालुहरु अन्न ग्रहण गर्छन् ।

अन्य पर्वमा जस्तै अँट्वारीमा आफ्ना चेलीबेटीहरुलाई घरमै बोलाउने चलन छैन । व्रतालुहरुले निकालेको पहुर ‘अग्रासन’ उनीहरुकै घरमा पु¥याउन जाने चलन छ ।

अग्रासन पु¥याउन प्रायः दाजु भाइ नै जाने गर्छन् । दाजु भाइ नभए अन्य सदस्यहरु जान्छन् । चेलीहरु पनि अग्रासन दिन आउनेलाई मानसम्मान गर्छन् । सम्मानार्थ जाँड, रक्सी र मासु खुवाउने गर्छन् । अतिथि सत्कारका लागि थारु समुदायमा जाँड रक्सी ठूलो मानिन्छ । त्यसकारण जाँड रक्सी खुवाउन पाए सन्तुष्ट भएको महसुस गर्छन् ।

योे पर्व भातृत्वप्रेम र सद्भावको पर्वको रुपमा पनि लिने गरिन्छ । लामो समयसम्म आफ्नो माइता जान नपाएका चेलीबेटीहरु यस पर्वमा आफ्ना दाजु भाइ तथा परिवारसंग दुःखसुखका कुरा खुलेर पोख्छन् । यसरी एकै ठाउँमा बसेर सुख दुःखका कुरा र खानपिनले एकापसमा विश्वास र आत्मीयता बढाउँछ । पारिवारिक सम्बन्ध पनि सुमधूर बनाउँछ ।