अत्तरिया – सुदूरपश्चिमको प्रवेशद्धारका रुपमा रहेको अत्तरिया बजारको बिस्तार हुने क्रम जारी छ । यहाँ विभिन्न किसिमका मिश्रित व्यापार व्यवसायहरु सञ्चालित छन । त्यस्ता व्यापार व्यवसायहरुलाई व्यवस्थीत तथा नियमन गर्ने स्थानीय सरकार र संस्थाहरुले काम गर्दै आएका छन ।
स्थानीय तह आएसँगै त्यस्ता व्यापार व्यवसायहरुको अनुगमन गर्नको लागि उपप्रमुखको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिले समग्र बजारको अनुगमनमा नेतृत्व गर्दै आएको छ । नगरस्तरको यो समितिले आफै नियमावली बनाएर बजार अनुगमन गर्दै आएको भएपनि पछिल्लो समय अत्तरिया क्षेत्रमा फस्टाउँदै गएको मनोरञ्जन तथा सत्कारका क्षेत्रहरु अनुगमनमा भने यस समितिको ध्यान पुग्न सकेको थिएन । जसका कारण यी क्षेत्रमा अनुगमन नै हुन सकेको थिएन । अनुगमन नहुँदा मनोरञ्जन तथा सत्कारका क्षेत्रहरुमा समस्या मौलाउदै गएको अवस्थामा बिहिबार भने पहिलो पटक गोदावरीमा मनोरञ्जन तथा सत्कार क्षेत्रहरुको अनुगमन गरिएको छ ।

गोदावरी नगरपालिकाको सहकार्यमा निड्स नेपालद्धारा सञ्चालीत ‘हाम्रो सम्मान’ परियोजनाले नगरका केही मनोरञ्जन तथा सत्कार क्षेत्रहरुको अनुगमन गरेको हो । परियोजनाका अनुगमन मुल्यांकन कोर्डिनेटर महेश मल्लले विशेष गरी श्रमिकहरुलाई लक्षित गरेर अनुगमन गरिएको बताए ।
उनले त्यस्ता क्षेत्रहरुमा काम गर्ने श्रमिकको अवस्था तथा मनोरञ्जन र सत्कार क्षेत्रको दर्ता नविकरणको अवस्थाका बारेमा पनि अनुगमन गरीएको बताए । ‘हाम्रो सम्मान परियोजना, युएसएड र युकेएडको आर्थिक सहयोगमा नेपालमा विन्डर ईन्टरनेशनलसँग साझेदारी गरी सञ्चालनमा आएको हो’ उनले भने ‘यसले मानव बेचविखनको विषयमा कार्य गर्ने भएपनि विशेष गरी अहिले मनोरञ्जन क्षेत्रमा कार्य गर्ने श्रमिकको बारेमा अवलोकन गरीरहेको छ ।’ उनले अनुगमनका क्रममा अत्तरिया बजारमा कतिपय मनोरञ्जनका व्यवसायहरु एक वर्ष भैसक्दा पनि नविकरण नभएको भेटिएका बताए ।
त्यसका साथै मजदुरहरुले पाउनुपर्ने न्यूनतम पारिश्रमिक पनि नपाएको र केही ठाउँमा बालबालिकालाई पनि श्रममा लगाएको अवस्था भेटिएको उनले बताए । उनले उक्त समस्या अनुगमनको कमीका कारण भएको बताए । त्यसको समाधानका लागि स्थानीय पालिकाले अनुगमनको पाटोलाई महत्वका साथ हेरी नियमितता दिनुपर्ने उनको भनाइ छ ।

त्यस्तै परियोजनाका कार्यक्रम संयोजक हरी प्रशाद जोशीले मनोरञ्जन तथा सत्कार क्षेत्रलाई नियमन गर्न र त्यसलाई व्यवस्थीत रुपमा सञ्चालन गर्नका लागि पहिलो पटक गोदावरीमा अवलोकन अनुगमन गरिएको बताए । निड्स नेपालले कैलाली र कञ्चनपुरमा ९ वटा स्थानीय पालिकाहरुमा उक्त परियोजना सञ्चालनमा ल्याएको उनले बताए । उनका अनुसार परियोजनाले मुख्य रुपमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि कैलाली र कञ्चनपुरमा कार्य गर्दै आईरहेको छ ।
‘मानव बेचविखन नियन्त्रण गर्नका लागि स्थानिय सरकारसँग वकालत गर्ने, उनीहरुको क्षमता अभिवृद्धि गराउने, पीडित प्रभावितहरुको राहत उद्धारका लागि स्थानीय सरकारलाई झकझक्याउने खालका कार्यक्रमहरु परियोजनाले गर्दछ’ उनले भने ‘त्यस्ता कार्यहरु मनोरञ्जन तथा सत्कारका क्षेत्रमा हुने भएकाले हामीले अनुगमनको कार्यलाई पनि सुरुवात गरेका हौ ।’
उनले अनुगमनका क्रममा त्यस्ता क्षेत्रमा काम गर्ने श्रमिकहरुको पारिश्रमिक न्युन भएको भेटिएको बताए । आगामी दिनहरुमा पनि संस्थाले अपनत्व लिई यस्ता कार्यहरुलाई निरन्तरता दिईने उनले बताए । उनले निरन्तर रुपमा अनुगमन नहुँदा मनोरञ्जन तथा सत्कारका क्षेत्रहरुमा केही समस्याहरु देखिएको बताए । उनले त्यसको निराकरणका लागि आगामी दिनहरुमा अनुगमनलाई निरन्तरता दिनुपर्ने बताए ।
परियोजनाले सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरका केही पालिकाहरुमा कार्य गर्दै आएको छ । जोशीका अनुुसार कैलालीका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका, टिकापुर नगरपालिका र जोशीपुर गाउँपालिका तथा कञ्चनपुरका भिमदत्त नगरपालिका, बेलौरी नगरपालिका, बेल्डाडी गाउँपालिका र पुर्नवास नगरपालिकामा परियोजना सञ्चालीत छ । उनले मानव बेचविखन हुन सक्ने सम्भावित स्थान, अति प्रभावित क्षेत्र, खुल्ला सिमानाका भएका ठाउँहरु हेरी परियोजनाको कार्यक्षेत्र निर्धारण गरिएको बताए ।
स्थानिय तह आएको ५ वर्ष सम्पन्न भैसकेको छ । पुराना जनप्रतिनिधिहरुको कार्यकाल समाप्त भएर नयाँ जनप्रतिनिधिहरुले कार्य सम्हालिसकेको अवस्था छ । तर नगरका मुख्य बजारहरुमा रहेका मनोरञ्जन तथा सत्कार क्षेत्रहरुमा भने हालसम्म अनुगमन हुन सकेको थिएन । हालसम्म खाद्य तथा स्वास्थ्य क्षेत्रहरुको मात्रै अनुगमन हुदै आएकोमा नगरमा पहिलो पटक मनोरञ्जन क्षेत्रको पनि अनुगमन गरिएको हो । यता गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले आफु निर्वाचित भएर आएयता पहिलो पटक अनुगमनमा गएको र सबै व्यापारीहरुको तथ्यांक सकारात्मक भेटिएको बताए ।
‘म निर्वाचित भएर आएको करिब २ महिना हुन लाग्यो’ उनले भने ‘यस अघि के भयो, किन अनुगमन भएर भन्ने विषयमा म लाग्दीन तर म आएसँगै मैले अनुगमनको पाटोलाई अगाडी बढाएको छु ।’ उनले अनुगमनमा जाँदा सबै व्यापारीहरुलाई सल्लाह दिएको र आगामी दिनहरुमा त्रुटि भेटिए कारबाहीको प्रकृया पनि अगाडी बढाईने बताए ।
अनुगमनका नगरप्रमुख भट्टसँगै, उपप्रमुख शारदा रोकाया, प्रमुख प्रशासकिय अधिकृत बसन्त खत्री, ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक रविन्द्र राज पाण्डेय, नगरपालिकाकी महिला शाखा प्रमुख गोदावरी खत्री लगायतको उपस्थिति रहेको थियो ।


















