अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ९ चपरतलाका रामदास चौधरी कृषि कार्य गरेर जिविकोपार्जन गर्छन । उनको सोही ठाउँमा १० कट्टा जमिन छ । सो जमिनमा अन्न उब्जाउदै वर्षभरीको जोहो टार्ने उनलाई खेतको खनजोतका लागी भने समस्या झेल्नुपरेको छ ।
‘जमिन भएर के गर्नु, भनेको समयमा गाडी पाईदैनन, खेत खनजोत गर्न समस्या हुन्छ’ उनले भने ‘रोपाई गर्नलाई पानी लगायो भने पानी सुकेर गईसक्छ, तैपनी गाडी पाउन सकिदैन ।’ रामदास मात्रै हैन, उनको कृषि समुहमा रहेका सबै कृषकहरुको समस्या त्यस्तै छ ।
गाउँकै ३५ जना कृषकहरुले गठन गरेको सुर्यमुखी कृषक समुहमा आवद्ध कृषकहरुलाई खेतको खनजोतका लागी नै सबै भन्दा बढी दुःख हुने गरेको रामदास बताउँछन । समयमै खेत जोत्ने ट्रयाक्टरहरु नपाईदा भनेको समयमा विउविजनहरु समेत लगाउन नसकिने उनले दुखेसो पोखे ।
त्यसको समाधानका लागी उनी नगरपालिका गए । त्यहाँ उनले कृषि कार्य गर्ने कृषकहरुको समुहलाई ५० प्रतिशत अनुदानमा पावरटिलर दिने जानकारी पाएपछि सोही अनुसार आफ्नो समुहबाट नगरपालिकामा पावर टिलर मागका लागी आवेदन दिए ।
उनको कृषक समुह नगरपालिकाले छनौट लिष्टमा प¥यो । छनौट लिष्टमा परेका कृषक समुह तथा सहकारीहरुलाई मंगलबार नगरपालिकाले पावर टिलर वितरण ग-यो । पावर टिलर पाएसँगै रामदास हर्षित देखिए । ‘विगतमा खेतमा कृषि कार्य गर्नका लागी आफुसँग सामग्री नहुँदा सारै समस्या भयो, अब नगरपालिकाको अनुदानमा सामग्री पाएको छु, नगरपालिकालाई धन्यवाद दिन चाहन्छु’ उनले भने ।
उनले खेती कर्म गर्दा खेत खनजोतकै लागी करिब १८ देखि २० हजार एक सिजनमा खर्च गर्नुपर्ने बाध्यता अब भने हटेको बताए । उनले आफुजस्ता कयौ कृषकहरुले अब सस्तो मुल्यमा आवश्यकता परेका समयमा पावर टिलर मार्फत काम गर्न सक्ने बताए ।
उनीजस्तै नगरपालिकाको वडा नं. ६ बन्जरीयाका खुसीराम चौधरीले पनि पावर टिलर पाएकोमा खुसी व्यक्त गरे । उनले बञ्जरीया कृषक बचत समुहमार्फत पावर टिलर पाएका थिए । सो समुहमा आवद्ध ३५ जना कृषकहरुको कृषि कार्यमा पावर टिलरले सहजता प्रदान गर्ने उनले बताए । उनले पार टिलरले काम गर्दा आगामी दिनमा सुलभ मुल्यमा खेती हुनुका साथै समयको पनि बचत हुने विश्वास व्यक्त गरे ।
मंगलबार नगरपालिकाले नगरका ३२ वटा कृषक समुह एवम् सहकारीहरुलाई पावर टिलर र मिनि टिलर वितरण गरेको हो । पावर टिलर वितरणले कृषकहरुलाई खेती कार्यमा सहजता हुने कृष्णपुर नगरपालिकाका कृषि शाखा प्रमुख लाल बहादुर धामीले बताए ।
उनले पावर टिलर कृषकहरुका लागी बरदान सरह भएको बताए । ‘पावर टिलरबाट विभिन्न किसिमका काम गर्न सकिन्छ, खेत जोत्ने, पानी तान्ने, सानो तिनो ढुवानी लगायतका कार्यहरु यसले गर्दछ’ उनले भने ‘त्यसैले पावर टिलर कृषकहरुका लागी बहुउपयोगी साधन हो ।’ उनले कृषकहरुलाई व्यवसायीक रुपमा आधुनिकिकरणमा लैजान नै नगरपालिकाले उक्त कार्य गरेको बताए ।
नगरका २० वटा कृषक समुह एवम् सहकारीहरुलाई पावर टिलर र १२ वटा कृषक समुह एवम् सहकारीहरुलाई मिनि टिलर वितरण गरेको हो । मिनि टिलर वितरण गर्दै नगरप्रमुख हेमराज ओझाले विगतदेखी नै नगरपालिकाले कृषि सम्बन्धी धेरै कार्य गर्दै आइरहेको बताए ।
उनले कृषकहरुलाई आत्मनिर्भर बनाउनका लागी नगरपालिकाले विभिन्न कार्य गर्दै आईरहेको र आगामी दिनमा अझै पनि गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । उनले नगरपालिकाले विगतमा वितरण गरेका कृषि सम्बन्धी अनुदान प्रभावकारी भए वा भएनन भन्ने विषयमा अनगुमन गरिने बताए ।
‘विगतका दिनमा नगरपालिकाबाट वितरण भएका अनुदानहरु हामी अनुगमन गर्ने भएका छौ’ उनले भने ‘किनकी यो रकम भनेको हामी मात्रै नभई हामी भन्दा पनि गरिब मान्छेको रकम पनि हो, सबैको करबाट आएको रकमको प्रभावकारी रुपमा सदुपयोग भएको छ की छैन भनेर हेर्ने जिम्मेवारी हाम्रो पनि हो ।’ नगरपालिकाबाट पाएको अनुदानको दुरुपयोग गरेको पाईएमा त्यस्ता कृषक समुह एवम् सहकारीहरुलाई कारबाही गरिने समेत उनले बताए ।
नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को २७ लाख बजेटमा कृषकहरुलाई पावर टिलर वितरण गरेको हो । उक्त पावर टिलरमा ५० प्रतिशत नगरपालिका र ५० प्रतिशत कृषकसमुह एवम् सहकारीको लगानी रहेको कृषि शाखाले जनाएको छ ।