अत्तरिया – देशमै पिछडिएको प्रदेशको रुपमा हेरिने सुदूरपश्चिमका ७ वटा जिल्ला पहाडी क्षेत्रमा पर्दछन। कैलाली र कञ्चनपुरलाई अन्य ७ पहाडी जिल्लासँग जोड्ने काम भिमदत्त राजमार्गले गरेको छ । पछिल्लो समय राजधानी तोकिएको कैलालीको गोदावरी नगरक्षेत्रबाट पहाडी जिल्लामा यात्रा गर्न भिमदत्त राजमार्ग भएर जानुपर्दछ ।
प्रदेशकै प्रमुख राजमार्गका रुपमा उक्त राजमार्गलाई हेर्ने गरीएको छ । तर विडम्बना, वर्षाैदेखि सञ्चालनमा आईरहेको भिमदत्त राजमार्गदेखि पहाडी जिल्लाको यात्रा भने जोखिमपुर्ण बन्दै गएको छ । जथाभावी रुपमा सडकमा रहेका खाल्टाखुल्टीका कारण यहाँ यात्रा गर्न निकै चुनौतीपुर्ण बन्न थालेको हो ।

सडकमा भएका ठुल्ठुला खाल्टाखुल्टीले यातायात सञ्चालनमा निकै समस्या हुने गरेको चालकहरुले बताएका छन । विगत २८ वर्षदेखि सोही राजमार्गमा बस चलाउदै आएका चालक लोक बहादुर बिष्टले पहाडी राजमार्गको हालत निकै खराब रहेको बताए । ‘पहाडी क्षेत्र जाने रोडको हालत त एकदमै खराब छ, बाटोभरी खाल्टाखुल्टी छन, गाई छाडा त्यस्तै छन । चलाउनै सकस हुन्छ’ उनले भने । सडकमा खुल्ला रुपमा छाडा चौपाया पनि घुमिरहने हुँदा थप समस्या हुने गरेको उनले बताए ।
उनले पहिलेको तुलनामा अहिले बाटोको हालत थप खराब भएको बताए । पुरानो राजमार्ग मर्मत सम्भार नहुँदा यात्रा गर्न थप जोखिम रहेको उनले बताए । उनका अनुसार अहिले पहाडी क्षेत्रमा चल्ने गाडीको चाप बढी भएकाले पनि बाटोको अवस्था दिनानुदिन बिग्रिदै गएको हो ।
यस्तै सोही राजमार्गमा विगत १८ वर्षदेखि गाडी चलाउदै आएका चालक योगेश अवस्थीले राजमार्गमा भएका खाल्टाखुल्टीले यातायात सञ्चालनमा निकै समस्या हुने गरेको बताए । उनले खाल्टाखुल्टीबाट आफ्नो सवारी साधनलाई बचाउन खोज्दा नै बढी दुर्घटना हुने गरेको बताए । राजमार्गको अवस्था नाजुक भैसक्दा पनि सरोकारवाला निकायले हालसम्म मर्मत सम्भारमा ध्यान नदिएको उनले गुनासो गरे ।
अर्का चालक भुवन ठगुन्नाले खाल्टाखुल्टीले सवारी साधनलाई समेत नोक्सान पु¥याउने गरेको बताए । विगत २० वर्ष देखि गाडी चलाईरहेका उनले खाल्टाखुल्टीकै कारण सवारी साधन छिटो बिग्रिने समस्या हुने गरेको बताए । ‘खाल्टाखुल्टीले त सारै समस्या गरेको छ, गाडीको पट्टा टुट्ने, गाडी बिग्रिने लगायतका समस्याहरु आईरहन्छन’ उनले भने ‘विगतदेखि नै बाटोमा रहेका खाल्टाखुल्टीहरु पुर्ने काम भैरहे पनि दिगो रुपमा समस्या समाधान हुन सकेको छैन ।’
राजमार्गको गैरादेखि साहुखर्क क्षेत्रमा सडकका बीचबीचमा खाल्टाखुल्टी हुँदा उक्त क्षेत्रमा यातायात सञ्चालनमा जोखिम बढेको छ । भिमदत्त राजमार्ग मर्मतका लागि प्रत्येक वर्ष ठेक्का हुने गरेको भए पनि ठेकेदारको अटेरीका कारण सडकको मर्मत हुन नसकेको सडक डिभिजन कार्यालय डोटीले जनाएको छ ।

सडक डिभिजन कार्यालय डोटीले भिमदत्त राजमार्गको मर्मतका लागि डडेल्धुराको युसुफ कन्स्ट्रक्सनसँग आर्थिक वर्ष २०७७÷०७८ मा सम्झौता गरेको थियो । तर उक्त कन्स्ट्रक्सन कम्पनीले बिचमै काम छोडर सम्पर्क बिहिन बनेपछि सडक मर्मतको कार्यमा ढिलाई भएको सडक डिभिजन कार्यालय डोटीका सूचना अधिकारी योगेन्द्र बहादुर अधिकारीले बताए ।
उनका अनुसार आर्थिक वर्ष २०७८/०७९ को मंसिर भित्र निर्माण सम्पन्न गरिसक्ने गरी युसुफ कन्स्ट्रक्सन कम्पनीसँग सडक डिभिजन कार्यालयले सम्झौता गरेको थियो । सम्झौता अनुसारको काम नगरी ठेकेदार कम्पनी सम्पर्क बिहिन बनेपछि हाल नयाँ कन्स्ट्रक्सन कम्पनीसँग कार्यालयले सम्झौता गरी कार्य सुचारु गरीसकेको अधिकारीले बताए ।
‘सम्झौता अनुसारको करिब ६०/७० प्रतिशत जती काम गरी पुरानो कन्स्ट्रक्सन कम्पनी सम्पर्क बिहिन बन्यो, जसले गर्दा राजमार्ग मर्मतको कार्यमा ढिलाई भयो’ उनले भने ‘अहिले उक्त कार्यका लागि नयाँ कन्स्ट्रक्सन कम्पनी सँग सम्झौता गरीसकेका छौ, नयाँ ठेकेदार कम्पनीले काम पनि सुरु गरीसकेको छ ।’
उनले पुरानो ठेकेदार कम्पनीसँगको सम्झौता रद्द गर्ने र उक्त कम्पनीलाई कालोसुचीमा राखि जमानी जफत गर्ने प्रकृया चलिरहेको बताए ।
हाल डडेल्धुरामै रहेको उन्नती निर्माण सेवासँग कार्यालयले असार मसान्तमा काम सम्पन्न गरी सक्ने गरी सम्झौता गरेको छ । कम्पनीसँग गत असोजमा सम्झौता गरिएको भएपनि बिचमा विविध कारणले काम सञ्चालन हुन नसकेको र अहिले मर्मतको काम भैरहेको अधिकारीले बताए ।
उनका अनुसार उक्त ठेकेदार कम्पनीले डडेल्धुराको साहुखर्क र अनारखोली क्षेत्रमा निर्माण कार्य गर्नेछ । डडेल्धुरा बजारक्षेत्र भने कार्यालय आफैले मर्मतको कार्य गर्ने जनाएको छ ।
प्रदेशका पहाडी जिल्लालाई तराईका जिल्लासँग जोड्ने एकमात्र यो राजमार्गमा सवारी साधनको अत्याधिक चाप हुने गरेको छ । हाल उक्त राजमार्ग भएर दैनिक २८० देखी ३०० वटा सवारी साधनहरु पहाडी जिल्लाहरुमा जाने गरेको गोदावरी ट्राफिक पोष्टले जनाएको छ ।


















