खाेज्नुहाेस

सामाजिक सञ्जालमा भाइरल घोषणा पत्र लेख्ने ठकुराठी को हुन ?

Image

डोटी – ‘कृषिलाई महत्वपूर्ण प्राथमिकतामा राखी भागेश्वर गाउँपालिकाको खेतीयोग्य जमिनमा मौसम अनुसार हेलिकप्टरबाट बिउ, छर्ने र हेलिकप्टरबाटै सिँचाइको व्यवस्था मिलाइनेछ ।’ यो कुनै नाटक वा चलचित्रको स्क्रिप्ट होइन, ३० वैशाखमा हुने स्थानीय तहका उम्मेदवारको प्रतिवद्धता पत्र हो । जुन सामाजिक सञ्जालमा भाइरल छ ।

यो प्रतिबद्धता पत्र डडेल्धुराको भागेश्वर गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका खडक ठकुराठीको हो । ‘हर हर ठकुराठी, घर घर ठकुराठी’ को नारासहित पुतली चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका ठकुराठी सशस्त्र प्रहरी बलको अवकाशप्राप्त कर्मचारी हुन् । ‘२०५१ सालमा मैले प्रहरीमा जागिर सुरु गरेँ, त्यसपछि सशस्त्र प्रहरीमा गएँ’ ठकुराठी भन्छन् ‘सशस्त्र द्वन्द्वको क्रममा प्युठानमा आक्रमणमा पर्दा खुट्टामा गोली लाग्यो ।’

attariya hospital
navjiwan hospital

उनले ८ वर्षअघि सशस्त्र प्रहरी बलबाट अवकाश लिएका थिए । अशक्तताकै अवस्थामा सशस्त्र प्रहरी बलले उनलाई सञ्चार सम्बन्धी तीन महिने तालिम दियो । उनी भन्छन् ‘मेरो तालिम प्रमाण पत्रमा इन्जिनियर खडक ठकुराठी लेखेको छ, म इन्जिनियरिङ पढाइ गरेको मान्छे होइन ।’

४४ वर्षीय ठकुराठी हाल डडेल्धुरा जिल्ला सदरमुकाममा इलेक्ट्रोनिक्स सामान मर्मतको काम गर्छन् । प्रतिबद्धता पत्रमा उनले हेलिकप्टरबाट बिउ छर्ने र सिँचाइ गर्ने कुरा मात्रै गरेका छैनन्, गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा नदी महाकालीमा चार वर्षभित्र नेपाली झण्डाबाहक पानी जहाज चलाउनेसमेत उल्लेख गरेका छन् ।

जनतालाई सुख, समृद्धि र शान्तिको पूर्ण प्रत्याभूति दिलाई तीन सय ६५ दिन नै दशैं मनाउने वातावरण मिलाउने, गाई, भैंसी तथा बाख्रालाई अस्पतालमै सुत्केरी हुने व्यवस्था मिलाउने, टप्वाको डाँडादेखि भागेश्वरको मन्दिरसम्म केबुलकार चलाउने उनको घोषणा छ । गाउँपालिकालाई दुई वर्षभित्रमा नगरपालिका घोषणा गर्ने र बेरोजगार युवालाई भत्ताका साथै सीपमूलक तालिम प्रदान गर्ने उनको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

पढ्दा र सुन्दा ‘हावादारी गफ’ लागेका यी प्रतिबद्धता सबै पूरा गर्न सक्ने ठकुराठीको दाबी छ । ‘हेलिकप्टरबाट बिउ छर्ने भनेको खेतबारीमा धान, गहुँ, मकैको बिउ छर्ने भनेको होइन’ उनी स्पष्ट पार्दै भन्छन् ‘नाङ्गा डाँडामा सिजन अनुसार बोटबिरुवाको बिउ छरेर डाँडाहरुलाई हरियाली बनाउने भनेको हुँ ।’ उनी बिउ छर्ने काम पनि आफूले नगर्ने बताउँछन् । भन्छन्, ‘मैले गर्ने होइन, राज्यले गर्ने हो ।’