अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका मिन बहादुर मल्लले खानेपानीको धारो चुनाव चिन्ह पाएका छन । शनिबार निर्वाचन अधिकृतको कार्यालय गोदावरीले मल्ललाई चुनाव चिन्ह खानेपानीको धारो दिएको हो ।
मल्लले बैसाख १२ गते निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दिएका थिए । गोदावरी – १ मा मल्ल गोदावरीको मेयरमा दावी गर्ने सबैभन्दा कान्छा उम्मेदवार पनि हुन ।


२८ बर्षीय मल्लले आफ्नो चुनावी प्रतिवद्धता पत्रमा प्रत्येक बर्ष १ सय विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा, डाक्टर, इन्जिनियर पठाउने, ५ सय कामदारलाई निशुल्क भिसा, हवाई टिकट उपलब्ध गराउने, अत्तरियामा उच्च माद्यमिक आवासीय स्कुल खोल्ने, एक हजारमा ३ लाखको बिमा गर्ने लगायतका योजना अघि सारेका छन ।
यस्तै बजारमा पार्किङ, शौचालय, खानेपानी, अत्तरिया बसपार्कलाई हाइटेक, रात्रीलाइट, ट्राफिक लाइट लगाउने, अत्तरिया– गोदावरी – चौमाला – भलारी सम्म विद्युतिय बस संचालन गर्ने, लामिताल लगायत नगरपालिका भित्रका पर्यटकीय क्षेत्रमा सुविधा सम्पन्न पार्क निर्माण गर्ने, डिजिटल माध्यमबाट टेण्डर प्रक्रिया, खरिद, बजेट र सबै प्रकारका कामहरु पारदर्शिता गर्ने लगायतका एजेण्डा अघि सारेका छन ।
भारतको पंजाव युनिभर्सिटीबाट साइन्समा स्नाकोत्तर गरेका मल्ल युवालाई राजनीतिमा ल्याउन आफू चुनावमा होमिएको बताउँछन ।


















