खाेज्नुहाेस

कैलालीमा सत्ता गठबन्धनको भागबण्डा जिम्मा प्रदेशलाई

Image

धनगढी – कैलालीमा सत्तारु दलहरुबीच स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा जिल्ला स्तरमा सहमति जुट्न नसकेपछि भागबण्डाको जिम्मा प्रदेश स्तरीय संयन्त्रलाई दिइएको छ ।

शनिबार धनगढीमा बसेको सत्तारुढ गठबन्धनको जिल्लास्तरीय बैठकमा सहमति नजुटेपछि भागबण्डा टुङ्ग्याउने जिम्मा प्रदेशस्तरीय संयन्त्रलाई दिने निर्णय गरिएको छ ।

attariya hospital

बैठकमा सहभागी नेकपा माओवादी केन्द्र कैलालीका संयोजक लाजुराम चौधरीले जिल्ला तहमा सहमति हुन नसकेका कारण सबै स्थानीय तहको भागबण्डा गर्न प्रदेशस्तरीय संयन्त्रलाई सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

navjiwan hospital

‘गठबन्धनमा आवद्ध सबै दलहरुले आ–आफ्नो अडान यथावत राख्दा कुन स्थानीय तहमा कुन पार्टीको उम्मेदवार उठाउने भन्ने विषयमा सहमति हुन सकेन,’ चौधरीले भने, ‘त्यसैले सबैको छलफलको आधारमा अब तालमेलको निर्णय गर्ने जिम्मा गठबन्धनको प्रदेशस्तरीय संयन्त्रलाई दिने सहमति गरेर बैठक सकिएको छ ।’

उनले केन्द्रीय सर्कुलरअनुसार भागबण्डा गर्न दलहरु सहमत हुन नसक्दा पटक–पटकका बैठक निष्कर्षविहीन हुने अवस्थाका कारण समय सीमा सकिनै लागेकाले माथिल्लो तहमा सिफारिस गरिएको बताएका छन् ।

बैठकमा सहभागी नेकपा एकीकृत समाजवादी पार्टी कैलालीका सचिव खडक रावतले पनि आपसमा सहमति नजुटेका कारण प्रदेश स्तरीय संयन्त्रलाई सिफारिस गर्ने लिखित निर्णय भएको जानकारी दिए ।

स्रोतकाअनुसार नेकपा एकीकृत समाजवादी पार्टी र माओवादी केन्द्रले चार/चार वटा स्थानीय तह आफूले पाउनुुपर्ने अडान राखेको र कांग्रेसले त्यसमा असहमति जनाएको थियो ।

गठबन्धनभित्र कांग्रेसलाई सबै दलहरुसँगको छलफलका आधारमा भागबण्डा टुङ्ग्याउने जिम्मा दिइएको थियो । तर कांग्रेसले एकीकृत समाजवादी र माओवादी केन्द्रलाई चार/चार स्थानीय तह दिन नसकिने अडान राखेपछि सहमति हुन सकेको थिएन । कांग्रेसले कम्तीमा पनि ७ स्थानीय तह आफूले पाउनुुपर्ने अडान राख्दै आएको छ ।