अत्तरिया – कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको घाँटी छिनालेर हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले ४ जनालाइ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जानकी गाउँपालिका – ९ का १९ बर्षीय सुमित साउद, सोही ठाउँका १९ बर्षीय बमे भन्ने बम बहादुर बोहोरा, १९ बर्षीय रोनी परियार भन्ने दिलिप दास र १९ बर्षीय मनोज भण्डारी रहेका छन ।

उनीहरुलाई बिहिबार साँझ रुपन्देहीको सिदार्थ नगरपालिका – १ बेलहिया बोडरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दास हत्या घटनाका मुख्य अभियुक्त प्रहरीलाई नै चुनौती दिँदै पनि पक्राउ पर्न सकेका थिएनन् । दास हत्याका मुख्य अभियुक्त मनोज भण्डारी भएको प्रहरीले जनाएको छ । हत्यापछि मनोजले एक जनालाई फोन नै गरेर दासको हत्या गरेको भनेको अडियो नै सार्वजनिक भएको थियो । भने मनोजले ‘हामी हत्यारा हौं पक्राउ गरेर देखा’ भन्दै भिडियो नै सार्वजनिक गर्दै प्रहरीलाई चुनौती दिएका थिए ।

घाँटी छिनालेको अवस्थामा दासको शव पुस ३ गते कैलालीको जानकी गाउँपालिका – ९ अमरावती सामुदायिक वनमा फेला परेको थियो ।
प्रहरीका अनुसार शव फेला पर्नु अघि पुस २ गते बेलुका मृतका दास र उनका साथिहरु लागुऔषध सेवन गर्न उक्त वनमा भेला भएका थिए । लागुऔषध सेवनपछि भने मोबाइल चोरी भएको विषयमा विवाद हुँदा दासको हत्या गरिएको थियो । उक्त घटनामा १० जना सहभागि भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त घटना पछि पुस ३ गते मनोज भण्डारी, बादल विक, दिलिप दास, बमे बोहरा, सुमित साउँद र विवेक सिंह भारततर्फ लागेका थिए भने कनकलाल विक, करण दर्नाल, शुशिल मयाल र नाम थर नखुलेका एक अर्का व्यक्ति कैलालीमै लुकेर बसेका थिए ।
पक्राउ परेका ४ जना भारतका बिभिन्न ठाउँमा काम खोज्दै हिन्ने गरेको थिए । सोही क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
सम्बन्धित समाचार : कैलालीमा युवकको टाउको छिनाल्ने मनोजले दिए अर्को धम्की (भिडियो)
















