सुर्खेत – देशमा आर्थिक सङ्कट बढिरहेका बेला कर्णाली प्रदेश सरकारले भने मुख्यमन्त्री, मन्त्री र सांसदहरूको सेवा सुविधा बढाएको छ । कर्णाली प्रदेश सरकारले सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभाका पदाधिकारी र सांसदहरूको सेवा सुविधामा ५० महिनापछि हेरफेर गरेको हो । व्यय भार बढ्ने गरी मन्त्री र सांसदहरूको सुविधा थपेपछि आलोचना भइरहेको छ ।

सरकारले हेरफेर गरेको अनुसूची अनुसार मुख्यमन्त्रीको तलब सुविधा ७० हजार सात सय ३० रुपैयाँ पुगेको छ । यसअघि मुख्यमन्त्रीको पारिश्रमिक मासिक ६० हजार नौ सय ७० रुपैयाँ थियो ।

यस्तै मन्त्रीहरूले ५२ हजार पाइरहेकामा अब ६० हजार तीन सय २० रुपैयाँ पाउने भएका छन् । राज्यमन्त्री, सहायक मन्त्री, सभामुख, विपक्षी दलका नेता, प्रदेश सांसद सबैको पारिश्रमिक बढेको छ ।

















