खाेज्नुहाेस

जब योगले निको भयो कौशिलाको रोग…

Image

अत्तरिया – कलिलो उमेरमै रोगले च्यापेकी कौशिला खर्कवाल अहिले ५६ वर्षकी भईन । कैलालीको गोदावरी नगरपालिका वडा नं. २ आदर्श टोलमा बस्दै आएकी उनलाई २५ वर्षकै उमेरमा विभिन्न रोगले चाप्यो ।

कलिलो उमेरमै ग्याष्ट्रिक, बाँथ लगायतका रोगहरुबाट ग्रसित उनि अहिले स्वस्थ छिन । ‘कलिलो उमेरमै ग्याष्ट्रिक, बाँथ लगायतका रोगहरुले ग्रसित थिए । सुरुवाती चरणमा सामान्य भएपनि पछि त्यसले ठुलो रुप लियो’ उनले भनीन ‘घरपरिवारले सधै अस्पताल लैजान्थे, उपचार गर्थे । केहि दिन निको भएर फेरी बल्झिन्थ्यो, कहिले त डाक्टर घरमै बोलाएर औषधी गर्थे, ४ बालबालीका थिए, उनिहरु स्कुलबाट आउदाँ सम्म त म कहिले काँही बेहोस भएकी हुन्थे ।’

attariya hospital

उनले डाक्टरहरुको उपचारबाट पनि रोग निको नभएपछि आफुले सहप्रभारी मदनराज पाण्डेयको सहयोगमा योग गर्न सुरु गरेको बताईन । ‘त्यती खेर टिभीमा पनि योग सिकाउने आस्था च्यानल आउदैनथ्यो, सहप्रभारीबाट कपालभाती लगायतका केही योगासनहरु सिकेकी थिए’ उनले भनीन ‘पछि पछि गर्दै जाँदा अहिले सबै योगासनहरु गर्छु, मेरो पुरानो रोग पनि पुरै निको भैसक्यो ।’

रोग लागेर समस्यामा परेकी आफुजस्तै अरुलाई पनि योगबाट नै उपचार गर्न सकिन्छ भन्ने उद्देश्यले ३ जनालाई लगेर अत्तरियाकै दुर्गामन्दिरमा योग सुरु गरेको उनले बताईन । ‘सुरुवातमा दुर्गामन्दिरमा ३ जनाबाट योग सुरु गरेकी थिए, विस्तारै विस्तारै त्यहाँ योग गर्नेको संख्या ५० पुग्यो’ उनले भनीन ‘त्यसपछि मन्दिरकै परिषरमा पाल टाँगेर पनि २ वर्षसम्म हामिले योग ग-यौ ।’

उनले त्यो अवधीमा मन्दिरकै छेउमा रहेको बनको जमिनमा योगका लागी भवन बनाउने योजना बनाएको बताईन । उनका अनुसार त्यती खेर उक्त ठाउँमा बनको भवन थियो तर पछि बनले आफ्नो भवन त्यसैको केही माथी सारेपछि उक्त ठाउँमा योगको भवन बनाउने योजना सुरु भएको हो । योजना मुताबिक भवन बनाउने सल्लाह हुँदा समुदायक्षेत्रले विरोध गरेको समेत उनले बताईन ।

‘भवन बनाउने भनेर विभिन्न कथा, पुराणहरु लगायौ, अन्य विभिन्न सहयोगीबाट रकम माग ग-यौ’ उनले भनीन ‘त्यसपछि उक्त ठाउँमा कच्ची भवन बनाउन सुरु गर्दा समुदायबाट विरोध भयो, त्यसपछि हामीले करिब ४ वर्षसम्म भवन बनाउन सकेनौ ।’ उनले योगका लागी भवन अनिवार्य हुन थालेपछि समुदायको विरोधका बावजुद रातीको समयमा भवन निर्माण गरेको बताईन । उनले ३ जनाबाट सुरु भएकोयोग अत्तरियामा तिब्र रुपमा फैलदा आफुलाई खुसि लागेको बताईन ।

योगकै कारण आफ्ना सबै रोगहरु निको भएको र अत्तरियामा योग गर्न आउने मृगौला, क्यान्सर, दम, सुगर, बाँथ, कम्मर दुख्ने, हातखुट्टा दुख्ने, छाती दुख्ने लगायतका करिब ५० जना भन्दा बढीको रोग निको भैसकेको उनले बताईन । उनले आफुले योग गर्न लागेको करिब १६ वर्षभन्दा बढी भएको बताउदै अहिलेको समयमा योगको एकदमै महत्व रहेको बताईन ।

navjiwan hospital

रगत नै नबन्ने रोगले ग्रसित गोदावरी – १ की कौशिल्या चौधरी पनि योगले आफुलाई निको बनाएको बताउँछीन । ‘मलाई खुन नै नबन्ने रोग थियो, धनगढी अत्तरिया सबै ठाउँ देखाएर अन्तमा काठमाण्डौ जाँदा डाक्टरले ५ दिन मात्रै बाँच्छ भनेर मेरो श्रीमानलाई भन्यो’ उनले भनीन ‘त्यहाँबाट आएपछि हरिद्धार गयौ, हरिद्धारमा योगको बारेमा जानकारी पाएपछि योगले रोग ठिक हुन्छ की भन्ने आशाका साथ योग गर्न सुरु गरे, आजकल म स्वस्थ छु ।’ उनले योग सुरु गरेको ६ महिनामै आफ्नो रोग निको भएको दावी गरीन । ४१ वर्षिया उनले आफु निरन्तर ९ वर्षदेखी योग गरिरहेको बताईन ।

अत्तरियाकै व्यापारी सरिता पोखरेलले पनि आफ्नो स्तन क्यान्सर योगले निको पारेको बताईन । गोदावरी – १ मा बस्दै आएकी उनले क्यान्सरकै कारण आफुले परिवारका २ जनालाई गुमाएपनि आफुलाई भने योगले ठिक गरेको बताईन ।

‘मेरो सासुलाई स्तन क्यान्सर थियो । उपचार गरेर स्तन फालेपनि केही समय पछि उहाँको मृत्यु भयो, त्यसपछि मेरो श्रीमानलाई पनि घाँटीको क्यान्सर भयो, उहाँको क्यान्सर चौथोँ स्टेजमा पुगेको रैछ’ उनले भनीन ‘मेरो श्रीमानको मृत्यु भएपछि मलाई स्तन क्यान्सर भएपनि मलाई उपचार गर्नै मन लागेन ।’

उनले पछि घरका सदस्यले जिद्दि गर्दा योग सुरु गरेको र हाल आफ्नो उक्त रोग पुरै निको भएको बताईन । पछिल्लो समय आफुलाई घाँटी को पनि समस्या भैरहेको र योग गर्दै जाँदा उक्त रोग पनि धेरै मात्रामा ठिक भैसकेको उनले बताईन ।

पछिल्लो समय अत्तरियामा योगप्रतिको आर्कषण बढ्दै गएको पतंजली योग समिति अत्तरियाका अध्यक्ष दुर्गा प्रसाईले बताए । उनले ३ जनाबाट सुरु भएको योग समितिले अहिले वृहत आकार लिएको बताए । ‘अत्तरियामा ३ जनालाई सहभागी गराएर कौशिला खर्कवाल गुरुमाले योग सुरु गर्नुभयो’ उनले भने ‘तर आजकल दैनिक ६० जना भन्दा बढी मानिसहरु योग गर्न आउँछन ।’ उनले हाल योग समितिमा ४ सय ६५ जना सदस्य रहेको बताए ।

योगमा आएर निरन्तर भित्रै मनबाट योगको प्रणायाम गर्ने मान्छेलाई जस्तो सुकै रोग भएपनि निको हुने उनले दाबी गरे । योगमा मानिसको आर्कषण बढ्दै गएपछि अत्तरियामा योग भवनको निर्माण गरिएको उनले बताए । उनले योग समितिको भवन निर्माणको लागी ७४ लाख ६६ हजार खर्च लागेको बताए ।

उक्त हल पतञ्जली योग समिति मार्फत संचालन गरिने र हल निश्चित शुल्क तिरेर जसले पनि प्रयोग गर्न सक्ने उनले बताए । ‘यो सार्वजनिक हल हो यसमा जसले जसरी मिटिङ कार्यक्रम गर्न सक्छन’ उनले भने ‘योग समितिको कार्यक्रम बिहान ४ देखि ६ बजे सम्म मात्र संचालन हुन्छ । बाँकी समय हल खाली हुन्छ ।’

सहरी विकास आयोजनाको २३ लाख, गोदावरी नगरपालिकाको ४० लाख र उपभोत्ता समितिको ९ लाख ७३ हजार ३ सय ५ रुपैयाँको लागतमा ३ सय १ दशमलव ५ स्क्वायर मिटर क्षेत्रफलमा योग हलको निर्माण गरिएको छ ।

अत्तरियामा २०६३ साल देखि सुरु भएको योग कार्यक्रम २०७१ सालमा जिल्ला प्रशासन कार्यालय कैलालीमा दर्ता भएको थियो । त्यसयता अत्तरियामा दैनिक रुपमा योग कार्यक्रम सञ्चालन हुदै आएको समितीका अध्यक्ष प्रसाईले बताए ।