अत्तरिया – दूई छोरी एक छोरा र बुढाबुढी सहित ५ जनाको परिवार पाल्न भारत छिरेका बिर बहादुर लुहार बिरामी भएर घर फर्किए । कैलालीको गोदावरी नगरपालिका – १० का ५० वर्षीय बिर बहादुर बिरामी भएर ३ वर्ष अगाडी घर फर्किएका थिए ।
छोराछोरीको पढाईलेखाई, परिवारको लालनपालन र दैनिक गुजारा चलाउन भारत छिरेका उनी ३ वर्ष यता घरमै बस्न बाध्य छन । भारतमै काम गर्ने सिलसिलामा अकस्मात हृदयघात भएपछि उनी घर फर्किएका थिए, त्यसयता उनी भारत जान सकेका छैनन् ।


एकातिर परिवारको अवस्था नाजुक भएपछि आर्थिक अभावका कारण के खाने भन्ने चिन्तामा लुहार परिवार छ भने अर्कातिर घरमुली नै बिरामी भएपछि कमाउने परिवारमा कोही थिएनन् । बुवा बिरामी भएपछि पढाईको खर्च धान्न समस्या हुँदा उनकी जेठी छोरी आरती लुहारले पढाई छाडिन । १८ वर्षिया आरतीले कक्षा ९ मा पढ्दै गर्दा पढाई छाडेकी थिइन ।
त्यसपछि घरको अवस्था कमजोर र बुवा बिरामी भएपछि परिवार पाल्ने जिम्मा उनको काँधमा थपियो । परिवारको दैनिकी धान्न उनले आफ्ना मामासँग भारत छिर्ने निधो गरीन ।
‘के गर्ने हजुर घरमा कमाउने कोही छैन, छोरो सानै छ, त्यती ज्ञान छैन’ विर बहादुरले भने ‘घरमा आर्थिक अभावका कारण खान लाउन समेत समस्या हुन थालेपछि जेठो छोरी कमाउन ईन्डिया गएकी छ, यता बसेर के गरोस, पढाई बिग्रिहाल्यो ।’

विरबहादुर आफ्नो उपचार गर्नको लागी आफुसँग भएको एक कठ्ठा जमिन बेचेर भेरी अस्पतालमा उपचारका लागी गए । उपचारका लागी आफुसँग भएको पैसाले नपुगेपछि उनले चन्दा समेत संकलन गरे ।
उपचारका क्रममा उनलाई मुटुको रोग देखियो । जसो तसो उपचार गरेर फर्किएका उनले रोग पुर्ण रुपमा निको नहुन्जेल सम्म महिनामा कम्तीमा ७ हजार बराबरको औषधी नियमीत सेवन गर्नुपर्ने भयो । त्यसले उनलाई थप समस्या पार्न थाल्यो । ‘महिनाको ७ हजार बराबरका औषधी खान्छु हजुर, काँ बाट ल्याउ पैसा’ उनले दुखेसो पोखे ‘पहिला पहिला त ऋण निकालेर औषधी किने, अब त ऋण माग्न सक्ने अवस्था पनि छैन ।’
उनले आफुलाई परेको समस्या वडाध्यक्षलाई जानकारी गराउदा वडाध्यक्षले सहयोग गरेको बताए । त्यसपछि उक्त वडाका वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) ले विर बहादुरको मासिक औषधी खरिदका लागी ७ हजार नगद सहयोग गरे । त्यसका साथै उनले विर बहादुरका छोरा रोशन लुहार र छोरी अन्जली लुहारको पढाईको पनि जिम्मेवारी लिए ।
‘आफ्नो समस्या भन्न वडाध्यक्ष सरलाई भेटेको थिए, उहाँसँग भेट भएपछि उहाँले मलाई औषधीको लागी ७ हजार सहयोग गर्नुभयो । साथै छोराछोरीको पनि भर्ना गरिदिनु भयो’ उनले भने ‘उहाँले मेरो मासिक रुपमा औषधीका लागी आवश्यक पर्ने रकम आगामी महिनाहरुमा पनि दिने भन्नुभएको छ । उहाँप्रति म धेरै आभारी छु ।’
उनले वडाको विकासका लागी मात्रै नभई वडाबासीलाई भैपरी आउन सक्ने समस्याहरुका लागी पनि वडाध्यक्ष शाहीले सहयोग गर्दै आएका बताए । वडाध्यक्षले छोराछोरीको पढाईको जिम्मेवारी नलिएको भए उनीहरुले पनि पढाई छाड्नुपर्ने बाध्यता आउने आफुलाई चिन्ता लागेको बताए । उनले अब भने आफुलाई छोराछोरीको पढाईको चिन्ता हटेको बताए ।

यता वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) ले आर्थिक अभावका कारण नियमीत रुपमा सेवन गर्नुपर्ने औषधी समेत किन्न सक्ने अवस्था नभएपछि आफुले सहयोग गरेको बताए । ‘आर्थिक अभावका कारण रोगले अकालमै ज्यान गुमाउन बाध्य मेरा वडाबासीहरुलाई मैले यसरी नै सहयोग गर्छु’ उनले भने ‘उहाँको अवस्था पनि त्यस्तै थियो, मैले मेरो तर्फबाट गर्न सकिने सहयोग गरेको हँु, उनलाई मासिक रुपमा औषधी किन्न आवश्यक पर्ने रकम अझै पनि उपलब्ध गराउने छु ।’ अध्यक्ष शाहीका अनुसार विरबहादुरका छोराछोरीलाई स्कुल भर्ना गराएर छोरीको लागी छात्रवृत्ति र छोराको लागी ट्युसन कक्षाको पनि व्यवस्था उनले गरेका छन ।
















