अत्तरिया – शनिबार कैलालीको अत्तरिया बजार तनावग्रस्त बन्यो । अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचाररत एक जना बिरामीको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको थियो । अस्पतालमा उपचारका क्रममा गोदावरी नगरपालिका – ३ का ३८ वर्षिय विनोद कुमार बोहराको मृत्यु भएको थियो ।
बोहराको मृत्यु भएपछि आफन्तले अस्पतालमा ढुंगामुढा प्रहार गरे । आफन्तले अस्पतालको एम्बुलेन्स लगायतका अन्य सवारी साधनका साथै औजार उपकरणहरुमा पनि क्षती गरे । तनावग्रस्त स्थिति सृजना भएपछि प्रहरीले अश्रुग्यास प्रहार ग-यो ।

करिब दिनभरी नै अत्तरिया बजारमा सवारी साधनहरु ठप्प बने । आफन्तले अस्पतालमा डाक्टरले लापरबाही गरेको भन्दै कारबाहीको माग गरे । दिनभरीको तनाव पछि अन्तमा आफन्तले शव बुझे र शनिबार साँझ नै बोहराको गोदावरी आर्यघाटमा अन्त्येष्टि गरेका थिए ।
शनिबार दिनभरीको तनाव पछि अत्तरिया अनलाइनले घटनाको सत्य तथ्य जान्ने प्रयास ग-यो । प्रयास स्वरुप पद्मा अस्पतालमा पुग्दा आन्दोलनकारी कोही थिएनन । अस्पताल खुलेको थियो ।
अस्पतालका केही कर्मचारीहरुले सेवा प्रवाह गरीरहेका थिए । तर शुक्रबार बिरामीको भर्ना लिने डाक्टरलाई हामीले भेटेनौ । अस्पतालका कर्मचारी सँग सोधपुछ गरेपछि उनको ठेगाना पत्ता लगाएर के कती कारणले बिरामीको मृत्यु भएको थियो भन्ने विषयमा कुरा सुरु ग-यौ ।
त्यसभन्दा अघि हामीले मृतकका आफन्त सँग कुरा बुझ्ने प्रयास ग-यौ ।

मृतकका भाई खडक बहादुर बोहरा :
‘शुक्रबार बिहान अटो चलाएर बजार गएको दाई १० बजे आएर सन्चो छैन भनेर पल्टियो । उनलाई पखाला र बोमिटिङ भएको रैछ । राती ११ बजेतिर मलाई फोन गरेर मलाई अफ्ठ्यारो भयो भनेपछि मैले पद्मा अस्पतालको ईर्मेजेन्सी कार्ड काटेर वार्डमा लगे । डाक्टरलाई मैले डायरीयाको केश छ भनेर भनेपछि उहाँहरुले मलाई युरिन, ब्लड, भिडियो एक्सरे गर्नुपर्छ भनेर भन्नुभयो । मैले ल ठिक छ भनेर गरे । दाईले चाँही मलाई ग्याष्ट्रिकका कारणले पेट फुल्यो भनेर भन्नुहुथ्यो । भिडियो एक्सरेमा खाना पनि खाएको र पेट पनि फुलेकाले केही देखिएन । पछि ब्लड टेष्टमा चाँही किड्नीमा सुजन छ, अनि सोडिएम, पोटासिएम, युरिए अलिकती तलमाथी छ भन्ने कुरा गर्नुभयो । त्यसपछि मैले अब के हुने त भनेर सोध्दा उहाँले ४/५ दिनपछि ठिक भैहाल्छ भन्नुभयो । पछि दाईलाई आईसियुको वार्डमा लैजाने भनेपछि मैले आईसियुको वार्डमा लगे । त्यसपछि मलाई डाक्टरले बाहिर पठायो । माथी बस्ने ठाउँ नभएकाले म तल आए । फेरी मलाई तल बस्न मन लागेन त्यसैले म १ बजे राती माथी गए । त्यहाँ आईसियुको बाहिर बाटै मैले कस्तो छ भनेर सोधे । डाक्टरले अक्सिजन लगाएको कुरा ईसाराले जानकारी दिनुभयो । मलाई आईसियुको रुममा जान दिईएन । तल बसको म बिहानतिर पुलिसले मृतकको जानकारी मलाई दिन्छ । डाक्टरहरुले मलाई भनेनन । त्यहाँ हतियार सहितका पुलिसहरु बोलाएको छ । यो घटनामा डाक्टर नै दोषी छ । पछि पुलिसले मेरो टाउकोमा ताकेर अश्रुग्यास हान्यो । हाम्रो माग भनेको अब दोषी डाक्टरलाई कारबाही गर्ने, अस्पताललाई सिल गर्ने, गोली हान्ने पुलिसलाई निलम्बीत गर्ने र क्षतिपुर्ति दिने भन्ने हो । कुरा सिडियो सम्म पुगिसकेकाले सिडियोले तिनपक्षिय समिति बनाएर घटनाको छानविन गर्ने र दोषीलाई कारबाही गर्ने भनेको छ ।’
उपचारमा रहेका डाक्टर चन्द्र प्रकाश चौधरी :
‘११ः५४ मिनेटमा केश आको थियो । मलाई कल आयो । म आएपछि सुरुमा सोध्दा खेरी उनीहरुले डायरीया र भोमिट आउने मात्रै भन्यो । त्यसका लागी त्यै अनुसार औषधी चलाईयो । औषधी चलाएर हेर्दा खेरी पेट ठुलो देखियो । त्यसपछि मैले भिडिया एक्सरे गर्न लगाए । भिडियो एक्सरे गर्दा खेरी पेटमा ग्यास धेरै भएकाले केही पनि नदेखिएपछि एक्सरेको डाक्टरले अहिले केही देखिएन भोली फेरी गर्नुपर्छ भनेर रिपोर्ट बनाउनुभयो । त्यसपछि किड्नी मा समस्या हुन सक्छ पेट सुन्निएको छ भन्ने लागेर सबै डेस्ट गर्दा खेरी किड्नीमा समस्या देखियो । किड्नीमा पोटासियम लेभल बढी देखिएपछि मैले फिजिसियन डाक्टरलाई कन्ट्याक्स गरे । म त मेडिकल अफिसर हो, त्यस्तो अवस्थाको केश फिजिसियन डाक्टरले हेर्ने केश हो । त्यसपछि मैले फिजिसियन डाक्टर गुन्जन खड्कालाई कल गरेर सबै रिर्पाेटहरुको बारेमा जानकारी गराए । उहाँले आईसियुमा सिफ्ट गर्देउ र यस्तो किसिमको औषधी चलाउ भनेर भन्नुभयो । उहाँ काठमाण्डौमा हुनुहुन्थ्यो, शनिबार बिहानको फ्लाईटमा आउने भन्नुभएको थियो । त्यसपछि आईसियुमा राखेपछि फेरी बिहान ४ बजे मलाई कल आयो, पेसेन्टको अवस्था खराब भैरहेको छ भनेर । कल आउने बित्तिकै करिब १० मिनेट भित्रै म अस्पताल पुगिसकेको थिए । त्यति बेला पेसेन्टलाई सास फेर्न गाह्रो भैरहेको अवस्था थियो, अक्सिजन मास्क लगाउदा पनि उनलाई अफ्ठ्यारो भैरहेको थियो । त्यसपछि प्रोटोकल अनुसार को औषधी चलाएर फेरी फिजिसियनलाई कल गरे । उहाँले भन्नुभएको आधारमा मैले मेडिसन हाले । त्यसको केही बेर पछि पेसेन्टले अचानक भोमिट गर्नुभयो । त्यसपछि त उहाँ बितिहाल्नु भयो । त्यो अवस्थामा पेसेन्ट पाटीलाई भित्र बोलाएर काउन्सेलीङ पनि गर्न पाईएन । १० देखी १५ मिनेटको बिचमा सबै कुरा भएको थियो म आफै मेडिसिन्सहरु मिलाउन, उसको ईक्जामिङ गर्न बिजि थिए । पेसेन्ट पाटीहरुसँग बोल्ने टाईम नै भएन मेरो । हाम्ले फिजिसिएनको गाईडेन्समा नै आईसियुमा राखेका थियौ । के कारणले मृत्यु भयो भन्ने कुरा पोष्टमार्टम बाट मात्रै थाहा हुने कुरा हो । उहाँको किड्नीको आरएफटि गर्दा खेरी किड्नीमा पोटासिएम लेभल हाई देखिएको थियो ।’हामी बिरामीको उपचारका लागी रातभरी कुर्छाै, राती निन्द्रा नभनी लाग्ने मान्छेले जानीजानी त्यस्तो किन गरौला र ?
सिडियोले के भने ?
जिल्ला प्रशासन कार्यालयसम्म उक्त घटना पुगिसकेको थाहा पाएपछि हामीले कार्यालयका प्रमुख जिल्ला अधिकारी किरण थापालाई सम्पर्क ग¥यौ । प्रमुख जिल्ला अधिकारी थापाले प्रहरीमा जाहेरी भएको आधारमा जिल्ला प्रशासन कार्यालयले घटनाको विस्तृत छानविनका लागी समिति गठन गर्न सकिन्छ भन्ने कुरा भएको बताए ।
उनले घटनाको मिलापत्र भए समिति गठन गर्नुको औचित्य नभएको बताए । ‘डिएसपि सापले के भनेर कुरा मिलेको हो, उहाँको भनाई सुन्नुप¥यो, अनि पिडित पक्षका आफन्तको ईच्छा पनि भयो भने छानविन समिति गठन गर्न सकिन्छ भनेर मैले भनेको हु’ उनले भने ।
भोलिको दिनमा त्यस्तो घटना घट्न नदिन पनि छानविन समिति गठन गरिने उनले बताए । ‘समितिले छानबिन गरेर निष्कर्ष निकालेपछि त्यसको सिफारिस कार्यालयलाई गर्छ’ उनले भने ‘त्यो सिफारिस आएपछि कुन प्रकृतिको घटना हो भन्ने कुरा मार्फत कारबाहीको प्रकृया अगाडी बढ्छ ।’ उनले प्रचलित कानुनको आधारमा नै सम्बन्धीत कार्यालयबाट दोषीलाई कारबाही गरिने बताए ।
















