खाेज्नुहाेस

व्युटिसियन पेशालाई सरकारले नहेरेको आरोप

Image

अत्तरिया – तिन तहका सरकार आएपनि ब्युटिसियन पेशालाई कसैले नहेरेको ब्युटिसियन महिलाहरुले आरोप लगाएका छन । राष्ट्रिय सौन्दर्यकर्मि युनियन नेपाल सुदूरपश्चिम प्रदेशले आयोजना गरेको ७ दिने आईलेस एक्सटेन्सन सम्बन्धी तालीमको समापन कार्यक्रमका सहभागीहरुले ब्युटिसियन पेशालाई प्रोत्साहित गर्नुपर्नेमा सरकारले त्यसप्रति ध्यान नदिएको आरोप लगाएका हुन ।

युनियनकी केन्द्रिय सदस्य एवम् सुदूरपश्चिम प्रदेश अध्यक्ष शोभा रावलले ब्युटिसियन पेशालाई राज्यले कुनै पनि कुरामा नसमेटेको बताईन् । उनले महिलाहरु आत्मनिर्भर बनेको उक्त पेशामा सरकारले लगानी लगाउन नसकेको बताईन् ।

attariya hospital

‘ब्यटिपार्लर पेशालाई फेसनको रुपमा मात्रै हेरिन्छ’ उनले भनीन् ‘के हामी फेसनका लागि मात्रै बसेका हौ त ? हैनौ, हामी महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन बसेका हौ । त्यसलाई सकारात्मक रुपमा बुझ्न जरुरी छ ।’ उनले महिलाहरुले आफु आत्मनिर्भर बन्न यो पेशा अंगालेको बताईन् । आर्थिक रुपमा समृद्ध नभई महिला आत्मनिर्भर बन्न नसक्ने भएकाले उसलाई पहिला रोजगारीको अवसरहरु सिर्जना गर्नुपर्ने बताउदै उनले त्यसका लागि राज्यले गर्नुपर्ने लगानी नगरेको गुनासो गरीन ।

उनले अन्य देशको तुलनामा नेपालमा ब्युटिसियन पेशालाई कुन्ठित गरेर राखिएको बताईन् । उनले घरघरमा सिँहदरबारको नारा ब्यटिसियन पेशा भएकाहरुका लागि नारामै सिमित भएको बताईन् । ‘सिंहदरबार घरघरमा भनेको छ । तर हाम्रो पेशाको लागि यो कहिले पनि घरघरमा आउन सकेन । राज्यलाई हामीले पनि कर तिर्छाै तर हामीलाई राज्यले अहिले सम्म केही पनि दिएको छैन’ उनले भनीन् ।

navjiwan hospital

उनले सक्रिय रुपमा लागेका धेरै महिलाहरु ब्युटिसियन पेशामा सफल भएका बताईन् । उनले कुनै पनि कार्यमा आफु अग्रसर भएर लागे पक्कै पनि सफलता हासिल गर्न सकिने समेत बताईन् । उनले कसैले सहयोग नगर्दा सबै सौन्दर्यकर्मीहरु मिलेर आफै रकम संकलन गरी तालीमको आयोजना गरेको बताईन् ।

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले पेशा अलग भएपनि व्यवहार महत्वपुर्ण कुरा भएको बताईन् । उनले कसैले पनि आफ्नो कामलाई सानो सम्झन नहुने बताईन् । आफुले गर्ने पेशालाई आफैले राम्रो बनाउनुपर्ने बताउदै उनले कसै अरुले राम्रो भनोस् भन्ने तिर लाग्न नहुने बताईन् ।

कार्यक्रममा नगरप्रमुख हरि सिँ साउँदले तालीममा सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गरे । व्यवहारमा उतार्न नसके तालीममा सिकेको सिपको अर्थ नहुने उनले बताए । उनले तालीमले मानिसलाई व्यवसायीक रुपमा सफल बनाउन मद्दत गर्ने समेत बताए ।

‘पछिल्लो समय सौन्दर्यसम्बन्धी कार्य गर्दै महिलाहरु आत्मनिर्भर बनीरहेका छन’ उनले भने ‘रोजगारी कसरी पाउने भन्दा पनि आफुले कसरी रोजागारी सिर्जना गर्ने भन्ने तिर सबैले ध्यान दिनुपछ ।’ उनले आफैबाट रोजगारी सिर्जना गरी आत्मनिर्भर बन्न महिलाहरुले यस्ता तालीममा सिकेका सिपलाई सदुपयोग गर्नुपर्ने बताए ।

ब्युटिसियन महिलाहरुलाई नगरपालिकाबाट आवश्यक पर्ने सहयोग गर्न तयार रहेको उनले बताए । तालीममा धनगढी उपमहानगरपालिकाका १० र गोदावरी नगरपालिकाका १० जना गरी २० जना ब्युटिसियनहरुको सहभागीता रहेको थियो । जुनु मेकअप स्टुडियोको सहयोगमा सञ्चालित तालीमको प्रशिक्षकका रुपमा सोही स्टुडियोकी संचालीका जुनु गिरी रहेकी थिईन् ।

कार्यक्रममा व्युटिसियन क्षेत्रमा बर्षाैदेखि पेशागत रूपमा निरन्तर लागीरहेका व्युटिसियन निसा सिह, सुनन्दा पान्डे र नेहा ब्युटि पार्लरलाई सम्मान पनि गरिएको थियो ।