टीकापुर – पछिल्लो निर्वाचनयता कैलालीमा ६६ हजार बढी मतदाता थपिएका छन । २०७४ सालको निर्वाचन पश्चात जिल्लामा ६६ हजार ९ सय ७० जना मतदाता थपिएका हुन ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार जिल्लामा अघिल्लो समयको निर्वाचनयता मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढेको छ ।


२०७४ सालको निर्वाचनमा कैलाली जिल्लामा ४ लाख ६० हजार ५ सय ७८ जना मतदाता रहेकोमा अहिले त्यो संख्या बढेर ५ लाख २७ हजार ५ सय ४८ पुगेको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।
भट्टका अनुसार अहिले मतदाता नामावलीमा नाम भएका तर जीवित नभएका व्यक्तिहरूको नाम हटाउने कार्य जारी रहेकाले अहिलेको संख्यामा १÷२ हजार मतदाता घट्न सक्ने सम्भावना रहेको छ ।
प्रदेश निर्वाचन कार्यालय धनगढीले मतदाताको अन्तिम नामावली आउँदो चैत्र १३ गते प्रकाशन गर्ने तयारी गरेको समेत प्रमुख भट्टले बताए ।

















