अछाम – अछामको साफँेबगरमा १ हजार २ सय ८३ परिवारलाई गरिब परिचयपत्र वितरण गरिएको छ । जिल्लाको साँफेबगर नगरपालिकाले नगरमा रहेका १ हजार २ सय ८३ परिवारलाई तिन प्रकारका परिचयपत्रहरु वितरण गरेको हो ।
नगरपालिकामा रहेका गरिब परिवारलाई रातो, पहेँलो र निलो कार्ड वितरण गरिएको नगरप्रमुख कुलबहादुर कुँवरले जानकारी दिए । उनले नगरका १४ वटै वडामा रहेका गरिब परिवारलाई परिचयपत्र वितरण गरिएको बताए ।


नगरमा अति गरिब ५ सय ८३ परिवारलाई रातो कार्ड, गरिब ४ सय ३८ परिवारलाई पहेँलो कार्ड र सामान्य गरिब २ सय ६२ परिवारलाई निलो कार्ड वितरण गरिएको नगरप्रमुख कुँवरले बताए ।
नगरपालिकाको तथ्यांक अनुसार नगरपालिकाको वडा नं. १४ पातलकोटमा २ सय गरिब परिवार छन् भने सबैभन्दा कम वैजनाथ र भाग्यश्वरमा २५/२५ परिवार छन् ।
गरिबको सूचीमा रहेका परिवारलाई नगरपालिकाबाट प्रवाह गरिने सेवामा पहिलो प्राथमिकता दिइने कुँवरको भनाइ छ । उनले परिचयपत्र पाएका परिवारभित्रका जेहेन्दार विद्यार्थीलाई लक्षित गरी जेहेन्दार छात्रवृत्ति पनि उपलब्ध गराइने बताए ।

















