अत्तरिया – ८० बर्षिया नरु दमाई सव डिभिजन वन कार्यालय चौमालाको परिसरमा बिहानै आइपुग्छिन । २ वटा पोलिब्यागमा माटो भरेबाफत १ रुपैयाँ पाइने भएकाले उनी बढी भन्दा बढी पोलिब्याग भर्न नियमित काममा लागेकी छिन । ‘बुढी भए, धेरै भर्न त सक्दिन, सजिलो काम भएकाले म सधै पोलिब्याग भर्न आउन्छु’ गौरीगंगा नगरपालिका – १ की नरुले भनीन् ‘दिनमा ३ सय थैला भर्छु ।’
उनी विगत ३ बर्ष देखि बिरुवा रोप्ने सिजनमा पोलिब्यागमा माटो भर्न आउने गरेकी छिन । ‘२ छोरा भएपनि म छुटै बस्छु । छोराहरु संग कुरा मिल्दैन । सकेको काम पनि गर्छु’ उनले भनीन् ।

नरु जस्तै गौरिगंगा नगरपालिका – १ की नैना मल्ल पनि दिनभरी पोलिब्यागमा माटो भर्नमै बित्छ । बिहान ९ बजे देखि दिउँसो साढे ३ बजे सम्म माटो भर्ने उनले दैनिक १ हजार पोलिब्यागमा माटो भर्ने बताईन् ।
‘६/७ घण्टा पोलिब्याग भर्छु । दैनिक हजार भरे ५ सय कमाई हुन्छ’ उनले भनीन ‘शनिबारको दिन अलि बढी भरिन्छ ।’


सव डिभिजन वन कार्यालयले २ लाख बिरुवा रोप्नको लागि नर्सरी तयारी थालेको छ । जसका लागि अहिले स्थानीयले माटो, बालुवा र मल मिसाउने, पोलिब्यागमा माटो भने, पोलिब्याग ब्याडमा मिलाउनेले काम पाएका छन ।
सव डिभिजन वन कार्यालय चौमालाका प्रमुख किशोर कुमार धामीले नर्सरीमा ६ महिना स्थानीयले काम पाउने बताए । ‘२ लाख बिरुवा उत्पादन गर्न २ लाख २० हजार जती पोलिब्याग भर्नुपर्ने हुन्छ । त्यसका लागि प्रति पोलिब्याग ५० पैसा दिने गरेका छौ’ उनले भने ‘नर्सरीमा माटो मिसाउने, पोलिब्याग मिलाउने र बिउ छर्ने काममा लागि १४ जनाले दैनिक ज्यालादारीमा ६ महिना सम्म काम पाउन्छन ।’
उक्त काममा अधिकांस महिला सहभागि छन । माटो भर्नका लागि विदाका दिन भने भिडभाडनै हुने गरेको सव डिभिजन वन कार्यालय चौमालाका प्रमुख धामीले बताए । डिभिजन वन कार्यालय धनगढी र बाह्रवन साझेदारी वन व्यवस्थापन समिति कैलालीको सहयोगमा सव डिभिजन वन कार्यालय चौमालाले बिरुवा उत्पादन गर्न लागेको हो ।
जसका लागि बर्षाद हुनु अगाडी नै बिरुवा उमारीसक्नु पर्ने भएकाले अहिले काम गर्नेको भ्याइनभ्याइ छ । कार्यालय प्रमुख धामीले १४ जना ज्यालादारी संगै दैनिक २०/३० जनाले माटो भर्ने काम गरिरहेको बताए ।
नर्सरीमा लिप्टिस, अमला, बाँस, कोइरालो, ईमली, बकाईनो लगायतका बिरुवा उत्पादन गर्ने तयारी गरिएको छ । डिभिजन वनले बिगत ५ बर्षदेखि बिरुवा उत्पादन गर्दै आइरहेको छ । उत्पादन गरिएका विरुवा कार्यालयले निःशुल्क रुपमा उपभोक्तालाई वितरण गर्दै आएको छ ।


















