खाेज्नुहाेस

बैतडीमा बजार अनुगमन

Image

बैतडी – बैतडीमा संयुक्त अनुगमन टोलीले बजार अनुगमनलाई निरन्तरता दिएको छ। जिल्ला प्रशासन कार्यालयको अगुवाइमा गत हप्तादेखि सुरु भएको अनुगमन कार्यलाई निरन्तरता दिइएको हो। जिल्लाको श्रीभावर, ढोल्यामोड, मोतीनगर, डिलाशैनी क्षेत्रका बजारमा अनुगमन गर्दा २४ व्यापारीलाई जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

डिलाशैनी क्षेत्रका आठ र बाँकी अन्य बजारका १६ गरी २४ व्यापारीलाई जरिवाना गरिएको हो। उनीहरुबाट ९० हजार जरिवाना असुल र ४५ हजार मूल्यबराबरको म्याद नाघेका सामग्री नष्ट गरिएको उनले बताए। उनले भने, “पहिलोपटक अनुगमन गर्दा सचेत गराउँछौँ। दोस्रोपटक पनि उपभोक्ता हितविपरीत सामग्री बिक्री वितरण गरिएको पाइए जरिवाना गर्ने गरेका छौँ।”

attariya hospital
navjiwan hospital

अनुगमन टोलीले सात पसलबाट खाद्यवस्तुको नमूनासमेत लिइएको छ। अनुगमनका क्रममा म्याद नाघेको हो कि होइन भनेर थाहा हुन नसकेको चामल, दालको नमूना सङ्कलन गरिएको हो। उक्त सङ्कलित नमूना परीक्षणका खाद्य प्रविधि प्रयोगशाला पठाउने र अखाद्य निस्किए जरिवाना गरिने कार्यालयले जनाएको छ। सूचना अधिकारी भारतीका अनुसार कालोबजारी, म्याद नाघेका सामग्री बढी बिक्री वितरण भएको गुनासो आउने गरेकाले बजार अनुगमन कार्यलाई निरन्तरता दिइएको हो।

टोलीले व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न तथा उपभोग्य मिति र लेबल हेरेर मात्र खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ। उपभोक्ता हित तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिने र अनुगमनले व्यापारी र उपभोक्ता दुवै सचेत गराउन मद्दत पुग्ने विश्वास गरिएको छ। यसअघि गौरा र दशैँतिहार लक्षित गरिएको बजार अनुगमनका क्रममा दुई लाख ५० हजार मूल्यबराबरका अखाद्य तथा म्याद गुज्रेका वस्तु बरामद गरिएको थियो ।

रासस