अत्तरिया – कैलालीको अत्तरियामा संचालित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा हजारौं दर्शकको साथमा गायक प्रमोद खरेल आफ्ना चर्चित गित गाउँदै थिए । महोत्सव स्थलमा खचाखच भरिएका दर्शकले उनलाई भरपुर साथ दिइरहेका थिए ।
यती सम्मकी प्रहरीलाई स्टेज अगाडी उफ्रिरहेको भिडलाई रोक्न हम्मे–हम्मे परिरहेको थियो । म बाचेकै तिमी संग माया लगाउन हो, बिजुलीको तार तार, धरो धर्म विद्यानास, ओई झुमा झुम्कावाली लगायतका गित गाएर खरेलले भरपुर मनोरञ्जन दिइरहेका थिए ।


लाखौं खर्चेर निर्माण गरिएको महोत्सव स्थलमा देशकै चर्चित गायकले गित गाएर दर्शकहरुलाई नचाइरहदा दृष्टिविहिन सर्जन बुढा भने महोत्सव स्थल बाहिर वेदनाका गित गाइरहेका थिए ।
बाली बैसै मलाई झुरी–झुरी मर्नु भयो…
छाती चिरी–चिरी बाच्नु पनी बेकारै हो…


भब्य महोत्सव स्थल अगाडी सडक किनारामा उनी एउटा सानो माइक राखेर यस्तै वेदनाका गित गाइरहेका थिए । उनको एउटै उद्देश्य थियो गितबाट दर्शकलाई मनोरञ्ज दिएर आर्थिक संकलन गर्ने । उनी गायक प्रमोद खरेलका गित सुनेर आएका दर्शकलाई आफ्ना गित सुनाउँदै थिए । उनको सुरीलो स्वरबाट प्रभावित भएकाहरुले उनलाई सक्दो सहयोग पनि गरिरहेका थिए ।
भिडियो…
बाजुराको त्रिविणी नगरपालिका – २ पुर्खेयौली घर भएका बुढा हाल कैलालीको गौरीगंगा नगरपालिका – ४ राजिपुरमा बस्दै आएका छन । उनका घरमा दृष्टिविहिन श्रीमती र ५ बर्षका छोरा छन ।
शनिबार महोत्सव स्थल अगाडी गित गाइरहेका बुढालाई यसरी गित गाएरै माग्न थालेको ४/५ बर्ष नै भइसकेको छ । उनले आफैले शब्द श्रृजना गरेका र अन्य गितका ट्याकमा पनि गित गाउने गरेका छन ।
उनले सडकमा गित गाएर उठेको पैसाबाट श्रीमती र छोराको लालन पालन गर्दै आएका छन ।
उनको स्वर कुनै गायक भन्दा कम नभएपनि उनले स्थानीय स्तरमा भएका मेला महोत्सवमा भने अवसर पाउन सकेका छैनन् । जसले गर्दा उनको कला अहिले पनि सडक किनारामा ५/१० रुपैयाँमै बिकिरहेको छ ।

















