अत्तरिया – कैलालीको अत्तरियामा पोषणयुक्त खाना सम्बन्धी महिलाहरुसँग छलफल गरिएको छ । कोेभिड – १९ बाट प्रभावित समुदायहरुको लागी पुनरोत्थान परियोजना अन्र्तगत ब्याकवार्ड सोसाईटी एजुकेशन (बेस) ले छलफल आयोजना गरेको हो ।
छलफलमा महिलाहरुलाई सुत्केरी अवस्थामा पोषणयुक्त खानाले बच्चा र आमाको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका बारेमा प्रशिक्षण दिईएको थियो ।

लुथरन वल्र्ड रिलिफ (एलडब्ल्युआर) को आर्थिक सहयोग र गोदावरी नगरपालिकाको सहकार्यमा आयोजीत छलफलको सहजीकरण गोदावरी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी विष्णु जोशीले गरेका थिए ।
छलफलका क्रममा बोल्दै उनले महिलाहरुलाई स्वास्थ्यका विभिन्न समस्याहरुको बारेमा जानकारी दिन छलफल आयोजना गरिएको बताए । छलफलमा महिलाहरुमा पोषणको अवस्था, सुरक्षित मातृत्व, परिवार नियोजन लगायतका विषयहरुका बारेमा सहभागीहरुलाई जानकारी दिईएको उनले बताए ।


उनका अनुसार छलफलमा महिलाहरुको खानपिन, खाद्य सुरक्षाको अवस्था लगायतका बारेमा पनि जानकारी गराईएको थियो । महिलाहरुको पोषणसम्बन्धी विद्यमान अवस्थाको बारेमा जानकारी लिई त्यसको समाधानका लागी गर्न सकिने विषयवस्तुहरु पनि छलफलमा समावेश गरिएको जोशीले बताए ।
परियोजनाकी कर्मचारी दिपा बमले वडागत रुपमा महिलाहरुलाई भेला गराई उनिहरुको पोषण तथा स्वास्थ्य सम्बन्धी समस्याहरु समाधानका लागी छलफलको आयोजना गरिएको बताईन । पहिलो दिन वडा नं. १ का ३५ जना महिलाहरुलाई सहभागी गराई पोषण सम्बन्धीका विभिन्न कुराहरुका बारेमा जानकारी दिईएको बताउदै उनले आगामी दिनहरमा नगरका अन्य वडाहरुमा पनि उक्त कार्यक्रम आयोजना गरिने बताईन ।
‘छलफलको उद्देश्य भनेको महिला र बच्चाहरुमा हुने पोषणसम्बन्धी समस्या समाधान गर्नु हो’ उनले भनीन ‘पोषणयुक्त खानाले महिला र बच्चा दुवैको स्वास्थ्यमा राम्रो प्रभाव पर्ने भएकाले महिलाहरुलाई पोषणयुक्त खानाको फाईदाका बारेमा जानकारी दिन पनि कार्यक्रम आयोजना गरिएको हो ।’
उनले गोदावरी नगरपालिकाका सबै वडाहरुमा उक्त कार्यक्रम सञ्चालन गरीने बताईन ।


















