खाेज्नुहाेस

रेखा जोशी बनिन् सुदूरपश्चिमकी महिनावारी सद्भावना दूत

Image

बझाङ – लोक तथा देउडा गायिका रेखा जोशी सुदूरपश्चिम प्रदेशको लागि मर्यादित महिनावारी सद्भावना दूत नियुक्त भएकी छन् । प्रदेशको छाउपडी प्रथा हटाउन कला क्षेत्रमार्फत काम गरिरहेकी जोशी सद्भावना दूतको रुपमा नियुक्त भएकी हुन् ।

आफ्नो सुरिलो स्वरमार्फत दर्जनौं लोक तथा देउडा गित गाएर स्रोताको मन जित्न सफल गायिका जोशीलाई खानेपानी तथा सरससफाइको क्षेत्रमा काम गर्दै गाएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले सद्भावना दूतमा नियुक्त गरेको हो । यो परियोजना नेपाल सरकार र फिनल्याण्ड सरकारको संयुक्त लगानीमा सुदुरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी जिल्लामा काम गरिरहेको छ ।

attariya hospital

मर्यादित महिनावारी दूतको रुपमा नियुक्त गायीका जोशीले सुदूरपश्चिम प्रदेशमा रहेको महिनावारी व्यवस्थापन सम्बन्धि कुसंस्कार र अन्धविश्वासका विरुद्ध जनचेतना जागरण गर्न सांगीतिक अभियान सञ्चालन गर्ने र महिनावारिलाई मर्यादित बनाउन योगदान दिने परियोजनाले जानकारी दिएको छ । स्थापित कलाकारहरुले धेरैको विश्वास जित्न सक्ने भएकोले जोशीको अभियानले महिनावारीलाई मर्यादित बनाउन ठूलो सहयोग पुग्ने परियोजनाका सामाजिक तथा संस्थागत विकास विज्ञ राजु तिरुवाले बताए ।

navjiwan hospital

बाजुराको बुढीगंगा नगरपालिकाको थुमा गाउँमा जन्मिएकी जोशी आफैं पनि छाउपडी प्रथाका कुसंस्कार भोगेको बताउँदै यो प्रथाले समाज विकासमा अवरोध सिर्जना गरेकोले यसकाविरुद्ध लागिरहेको बताउँछिन् ।

‘महिनावारीसँग जोडिएका कुप्रचलनले हाम्रा आमा दिदी बैनीहरुले भोग्नु परेको जस्तै पिडा विगतमा मैले पनि भोगेकी छु । यही प्रथाका कारण हाम्रा दिदी बहिनीहरुले रोग, भोक र हिंसाको सिकार भएको र ज्यानै गुमाएको पनि देखेकी छु,’ जोशीले भनिन्, ‘यो अमानविय कुसंस्कारविरुद्धको अभियानमा विषयमा हामीले बोल्नै पर्छ भनेर पहिलादेखि नै लागेकी थिए । अब संस्थागत रुपमै सक्रिय हुने अवसर मिलेको छ ।’

छाउपडी प्रथा अन्त्य गर्नका लागि युवा वर्गलाई उत्प्रेरित गर्ने र युवाहरुलाई यस अभियानमा गोलबद्ध गर्दै अन्धविश्वासकाविरुद्ध अभियान चलाउने उनले बताइन् ।