अत्तरिया – नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री एनपि साउँदले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) अनुमोदनमा कांग्रेस सुरुदेखी नै प्रतिवद्ध रहेको बताएका छन । शनिबार कैलालीको अत्तरियामा नेपाली कांग्रेस क्षेत्र नं. ४ ले आयोजना गरेको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले एमसीसी राष्ट्रहितको सम्झौता भएकाले कांग्रेस अनुमोदनमा लागेको बताए ।
‘पुर्वाधार विकाशका लागी अनुदान आईरहेको छ, देशको हितका लागी’ उनले भने ‘एमसीसी सम्झौतामा राष्ट्रघातको कुनै पनि कुरा उल्लेख भएको छैन ।’ उनले सबै पार्टीका सरकारहरुले यो सम्झौतालाई संसदबाट पास गराउने भनेर अगाडी बढाउदै आएका बताए । त्यतिमात्रै नभई अहिले एमसीसीको विरोध गर्ने नेताहरुले पनि संसदमा भएको बेला एमसीसीका बारेमा भएका कतिपय कुराहरुमा सहमती जनाएको उनले बताए ।

एमसीसीलाई पारीत गर्नका लागी केपी ओली प्रधानमन्त्री भएको बेला बजेट र संसदमा टेबुल हुनुपर्छ भनेर दर्ता गरेको बताउदै उनले उक्त समयमा दर्ता गरेको उक्त कुरालाई सभामुखले रोकेर राखेको बताए ।
‘कांग्रेसले आफु विपक्षमा भएको बेलामा पनि विदेशी अनुदान र सहयोग जस्ता कुरामा सबैको एक धारणा हुनुपर्ने बताउदै आएको छ’ उनले भने ‘केपी ओलीको बेला यो प्रस्ताव टेबुल भएको भए कांग्रेसका संसदहरु अनुमोदन गर्न तयार रहेका थिए ।’

उनले नेपाललाई विदेशी अनुदान दिने सबैभन्दा ठुलो दाताको रुपमा अमेरीका रहेको र निरन्तर सहयोग गर्दै आईरहेको समेत बताए ।
उनले एमसीसी सम्झौता राष्ट्र विरोधी सम्झौता नभएको उल्लेख गरे । ‘राष्ट्र बेचेको भए ओलीले प्रस्ताव किन टेबुल ग-यो, प्रचण्डको क्याविनेटले किन पास ग-यो, राष्ट्र बेच्ने प्रस्ताव भएको भए झलनाथको बेला यो वार्ताको प्रकृया सुरु किन भयो ? यसमा सबै पार्टी जोडिएका छन, खराब कुरा केही पनि छैन, हाम्रो विकाश सँग जोडिएको कुरा छ, खाली कम्युनिष्टको अमेरीकालाई हेर्ने दृष्ट्रिकोण फरक भएकाले समस्या भएको हो’ उनले भने ।
केपी ओलीको कार्यकालमा टेबुल भएको एमसीसी सम्झौतामा देउवा सरकारले कुनै पनि सम्पादन नगरेको उनले बताए । ‘एमाले र माओवादीको सरकारले जुन प्रस्ताव ल्याएका छन, हामीले त्यही प्रस्ताव ल्याएका छौ’ उनले भने ‘अनी उनले त्यै प्रस्ताव ल्याउदा सही हुने हामीले उनकै प्रस्ताव ल्याउदा खेरी गलत हुने पनि हुन्छ कही प्रजातन्त्रमा ?’ एमसीसीलाई चाडो पारीत गर्ने कुरामा कांग्रेस दृढ र स्पष्ट रहेको उनको भनाई छ ।
यस्तै उनले स्थानिय तहको निर्वाचनको मिति तोक्ने बारेमा पनि संविधान र ऐन बाझिँएकाले कांग्रेसले छलफलका लागी समय मागेको बताए । उनले कांग्रेस प्रजातान्त्रीक पार्टी भएकाले डराउने नभई निर्वाचनका लागी हरदम तयार रहने पार्टी भएको बताए । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले निर्वाचनको तिक्त अनुभव कांग्रेस सँग रहेको बताए । ‘आपसमा नमिलेर टिकट बाड्ने कुरा माथी सार्दा, वडाको टिकट पनि केन्द्रले दिँदा समस्या हुन्छ’ उनले भने ‘जस्को जोरको आवाज कानमा पुग्छ उस्ले पाउँछ, जनतामा कस्को उस्को परिस्थीती के छ भन्ने कुरा केन्द्रले कसरी मुल्यांकन गर्न सक्छ, त्यसैले अवका दिनमा यस्तो प्रवृति नआउने गरी निर्वाचनमा जानुपर्ने अवस्था छ ।’
स्थानिय तहको निर्वाचनमा कार्यकर्ताहरुले आफ्ना ठाउँका नेताहरुलाई कठालो समात्दै धोएर शुद्ध बनाएर निर्वाचनको बैतर्णी तर्न योग्य बनाउनपर्ने उनले बताए । यतीमात्रै नभई उनले कांग्रेस आफै बलियो पार्टी भएकाले स्थानिय तहको निर्वाचनमा कसैको सहयोग नचाहिने बताए ।
‘हामी जहाँ एक्लै जित्न सक्छौ त्यहाँ के को गठबन्धन, जस्ले आफै खेत जोत्न सक्ने त्यसलाई किन खेताला चाहियो,’ उनले भने ‘यदी हामी हार्न सक्ने अवस्था आयो भने मात्रै आवश्यकता अनुसार सबैको सहयोग लिने कुरामा पनि पार्टी अगाडी बढ्न सक्दछ ।’ तर गठबन्धन गर्ने या नगर्ने भन्ने विषयमा नितिगत निर्णय नभएको उनले बताए । उनले कसैले अन्र्तघात गरे मात्रै पार्टी हार्न सक्ने भएकाले सबैले एकजुट हुन जरुरी रहेको बताए ।


















