काठमाण्डौं – स्थानीय तह निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु गरिने भएको छ । निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय चुनावका लागि दल दर्ता सुरु गर्न लागेको हो ।
जसका लागि बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ ।


बुधबार सूचना प्रकाशित गरी आयोगले फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ । आयोगमा यसअघि १ सय ६ वटा दल दर्ता भएका छन् ।
दल दर्ताका लागि सार्वजनिक बिदाका दिन पनि कार्यालय खुल्ने आयोगले जनाएको छ । दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइ खुलाउनुपर्ने आयोजले जनाएको छ ।
त्यस्तै, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीयस्तर, प्रदेशस्तर र जिल्लास्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति पनि खुलाउनुपर्नेछ ।


















