धनगढी – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा सुदूरपश्चिमका ५ सय ९९ विद्यालय छनोट भएका छन । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले विद्यालय भवन निर्माण, प्राबिधिक ल्याब व्यवस्थापन लगायतका काममा लागि सुदूरपश्चिमका ५ सय ९९ विद्यालय छनोट गरिएको हो ।

जसमध्ये सुदूरपश्चिम प्रदेशमा १ सय ४१ विद्यालयमा ४ कोठे भवन, १ सय ७९ विद्यालयमा दुई कोठे भवन, २ सय ७० विद्यालयमा आइसीटी व्यवस्थापन, ८ विद्यालयमा प्राविधिक ल्याब र विद्यालयमा नयाँ प्राविधिकमा एक विद्यालय छनोट भएका छन् ।

बैठकले देशभरका ४ हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोट गरेको थियो । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अनुसार ४ कोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख, दुई कोठे भवन निर्माणका लागि १८ लाख, आइसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई ७० करोड ५९ लाख ६ हजार, गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुट विद्यालयका लागि अनुदान १४ विद्यालयका लागि ३३ करोड ६० लाख र प्राविधिक धार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरनोन्नितका लागि अनुदान ८८ विद्यालयलाई ८८ करोड रकम छुट्याइएको छ ।
राष्ट्रपति शैक्षिक सुधारका लागि देशभर ७ अर्ब ८५ करोड ५१ लाख रकम छुट्याएको छ । विद्यालय छनोट गरी बाँकी १ अर्ब ३८ करोड रकम बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्याइने शिक्षामन्त्री पौडेलले बताए ।




















