खाेज्नुहाेस

‘गाइडबण्ड’ परिवर्तन गर्दा महाकाली पुलको काम रोकियो

Image

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशकै ठूलो आयोजनामध्ये पर्ने कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको काम साढे तीन महीनायता प्रभावित छ । गत कात्तिक पहिलो साता महाकाली नदीमा आएको बाढीले पुलसँगै बनेको पहुँच मार्गलगायत संरचना बगाएपछि प्रभावित बनेको आयोजनाको निर्माणले अझै गति लिन सकेको छैन ।

पुलको चौतर्फी बन्ने पोखरीका लागि ‘गाइडबण्ड’ बनाउन डिजाइन परिवर्तन गर्ने प्रक्रिया अघि बढेपछि निर्माणको काम रोकिएको हो । यसअघि ठूला ढुंगाको ‘गाइडबण्ड’ बनाउने भनिए पनि ठूलो ढुंगाको व्यवस्थापन हुन नसकेपछि डिजाइन परिवर्तनको पहल अघि बढेको छ ।

attariya hospital

‘हामीलाई गाइडबण्ड बनाउन करिब एक लाख ८१ हजार घनमिटर ढुंगा आवश्यक थियो,’ पुल निर्माणको जिम्मा पाएको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्सन कम्पनी (सीएफसी) जेभीका इञ्जिनीयर किशोरराज पाण्डेयले भने, ‘अहिले डिजाइन परिवर्तनको काम नसकिएकाले निर्माणको काम ठप्प जस्तै छ ।’

पुलको ‘स्ल्याब’ ढलानको काम सकिएको जानकारी उनले दिए । ‘७ दशमलव ८ किमी ६ लेनको पहुँच मार्गअन्तर्गत चार किमी सडक कालोपत्र भइसकेको छ,’ उनले भने, ‘गाइडबण्डका लागि स्थानीय प्रशासनसँग समन्वय गरेर चुरेतर्फका खोलाबाट करिब १८ हजार घनमिटर ढुंगा ल्याए पनि त्यसले पर्याप्त भएन ।’

navjiwan hospital

उनका अनुसार गाइडबण्ड बनाउन २५७ किलोग्रामभन्दा माथिका ७० प्रतिशत र २० देखि ४० किलोग्रामका ३० प्रतिशत ढुंगा आवश्यक थियो । तीन अर्ब ६६ करोडको लागतमा निर्माण हुन लागेको पुल आयोजनाको ७२ प्रतिशत वित्तीय प्रगति भइसकेको छ ।

‘पुलको रेलिङ र रङरोगनको काम गर्ने तयारी हँुदै छ,’ उनले भने, ‘मौसम प्रतिकूलताका कारण कालोपत्र कार्य रोकिएको छ ।’ सुदूरपश्चिमको व्यापारिक नाकाका रूपमा विकास गर्न खोजिएको पुलको पारि र वारि दुवैतर्फ पाँच हजार ४०० मिटर बाँध निर्माण गर्ने योजना छ ।

महाकाली पुल योजना कार्यालयका इञ्जिनीयर दुर्गा अवस्थीले वाइडबण्डको डिजाइन परिवर्तनका लागि फाइल विभागमा पेश भएको बताए । ‘कोरोनाका कारण डिजाइन परिवर्तनको काममा केही ढिलाइ भएको हो,’ उनले भने, ‘छिट्टै डिजाइन परिवर्तनको काम सकिनेछ ।’ उनले पुलको अरू काम भने सञ्चालन रहेको बताए ।

२०७४ भदौदेखि शुरू भएको पुल निर्माणको अवधि आगामी फागुन १५ गतेसम्म रहेको छ । गत जेठ र कात्तिकमा महाकालीमा आएको बाढीले निर्माण कम्पनीको करिब २० करोडभन्दा बढीको क्षति पु-याएको थियो ।

रासस