खाेज्नुहाेस

कोरोना परिक्षण गर्न डराउँदै नागरिक

Image

धनगढी – केही हप्ता देखिको बढेको अत्यधिक चिसोले कष्टकर बनेको जनजीवन एकाएक फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण सुदूरपश्चिमका नागरिक थप सास्ती खेप्न बाध्य छन् ।

अत्यधिक चिसो मौसमसँगै घाँटी खसखस हुने, दुख्ने, ज्वरो आउने, रुखाखोकी लाग्ने, टाउको दुःख्नेजस्ता कोरोना भाइरससँग मिल्दो लक्षण देखिएका बिरामी बढ्ने क्रम रोकिएको छैन । आफू कोरोना सङ्क्रमित भएको आशङ्कामा यस्तो लक्षण भएका धेरै व्यक्ति नमूना परीक्षण नगराई घरकै एकान्तवासमा बस्न बाध्य भएका छन् ।

attariya hospital

यतिबेला हरेक घरमा यस्ता लक्षण भएर थलिएका कतिपयले नमूना परीक्षण गराए पनि धेरै नागरिक नमूना परीक्षणबिना नै एकान्तवासमा छन् । ‘नमूना जचाउँदा कोरोना ‘पोजेटिभ’ देखाइहाल्छ, यो भन्दा घरकै एकान्त कोठामा बस्न उचित ठानेकाले नमूना परीक्षण नगराएरै बसेको छु’, धनगढीका एक स्थानीयवासीले भने ।

navjiwan hospital

नमूना सङ्कलन केन्द्रसम्म पुगेर नमूना दिन जाँदा लाग्ने भीडले सङ्क्रमित भइने डर नागरिकमा देखिन्छ । धनगढीमा भेटिनुभएकी कञ्चनपुर कृष्णपुर नगरपालिका–९ की रोमती चौधरीले रुघाखोकी ज्वरोको समस्याले आफ्नो घर परिवारका सदस्य पालैपालो बिरामी पर्दा सबैलाई घरेलु उपचार गरेर सञ्चो पारिएको बताइन् ।

उनले भनिन्, ‘यति बेला गाउँमा धेरै व्यक्ति कोरोना भाइरस सङ्क्रमणजस्तै लक्षण देखिएर ज्वरोले थलिएका छन्, नमूना परीक्षण नगराउँदै धेरै व्यक्ति सञ्चो पनि भइरहेका छन् ।’ यो लक्षण कोरोना भाइरसको नयाँ भेरियन्टकै कारण रहेको स्वास्थ्यकर्मीले बताएका छन् । हाल फैलिएको कोरोनाको ओमिक्रोन भेरियन्टको सङ्क्रमण दर डेल्टा भेरियन्ट भन्दा छ÷सात गुणाले बढी हुने गरेको बताइएको छ ।

अहिले फैलिएको कोरोना भाइरसलाई धेरै नागरिकले सामान्य रुपमा लिँदा पनि यसको सङ्क्रमण दर बढेको स्वास्थ्यकर्मीको भनाइ छ । ‘कोरोना फैलिएको सुरुको वर्ष मानिस निकै डराएका थिए’, कैलालीका असिफ अन्सारीले भने, ‘मानिसमा अब भने विस्तारै कोरोनाको डर हराउँदै गएको देखिन्छ ।’ स्थानीय प्रशासनले कोरोना रोकथामका लागि निषेधाज्ञा जारी गरेपनि त्यसको पालना गर्ने गराउनेमा नागरिकबाट लापरबाही भइरहेको छ ।

रासस